Thaha

Friday 26 April - 4:43 am NST

संसद खुलाउने विषयमा दलहरु सहमतिनिकट / दुई किस्तासम्म कांग्रेस मान्न तयार

काठमाडौं, १४ असार । व्यवस्थापिका–संसदको गतिरोध अन्त्यका लागि प्रमुख दलहरु सहमतिनजिक पुगेका छन् । 

मंगलबार बेलुकी संसद भवन (शंकर हल) नयाँ बानेश्वरमा बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी कांग्रेसको कार्यदलसहितको छलफलमा शीर्ष नेताहरु आ–आफ्नो अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् । बैठकपछि नेपाली कांगेसका नेता डाक्टर प्रकाशरण महतले सरकार ठोसरुपमा आए दुई किस्तामा भुकम्पपीडितलाई अनुदान दिँदा फरक नपर्ने धारणा राखेको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो । उहाँले पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिएमा कांगे्रेस सहमत हुने बताउनुभयो । तर, बुधबार बिहान फेरि बैठक बसेर सहमतिलाई अन्तिम रुप दिने समझदारी रहेको नेता महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सहमतिको बाटो पहिल्याउने हो भने, ठोसरुपमा आउनुपर्छ, एकमुष्ठ दुई लाख रुपैयाँ दिँदा बजेटको सिलिङ लगायत समस्या पर्छ भने दुई किस्तामा दिँदा हामी सहमत हुन्छौं ।’ 

यस्तै, सत्तारुढ राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले लगभग सहमतिमा पुगेको जानकारी दिनुभयो । उहाँले मंगलबार ११ बजेको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेगरी सहमति नजिक पुगेको बताउनुभयो । संसद बैठकअघि बिहान कांग्रेसका केही नेता र प्रधानमन्त्रीसहितको बैठक बसेर प्रधानमन्त्रीको सम्बोधन वक्तव्यको तयार पारिने समझदारी बनेको बताउनुभयो । उहाँले दातृ संस्थाहरुको मनसायको विपरीत नहुने ढंगले प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुहुने बताउनुभयो । नेपाली कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने भन्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसले संसद अवरोध नछाडेपछि सहमति खोज्न सोमबार ठूला चार दलीय कार्यदल गठन गरिएको थियो ।   

यसैबीच, प्रमुख दलहरुले सहमति गर्न ढिलाई गरेपछि व्यवस्थापिका संसदको बेलुकीको बैठक पनि स्थगित भएको छ । बेलुकी साढे पाँच बजेका लागि तय गरिएको संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद बैठक अब बुधबार बिहान ११ बजे बस्नेछ । यसअघि साढे दिउँसो ३ बजेका लागि बोलाइएको बैठक दलहरुले समय माग गरेपछि साँढे  ५ बजेसम्मका लागि सारिएको थियो ।