Thaha

Wednesday 24 April - 4:28 pm NST

अष्ट्रेलीयाली राजदुतको चासो : अध्यक्ष प्रचण्डको भ्रमण किन रोकियो

काठमाण्डौं, असार १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित भएको विषयमा अष्ट्रेलियाले चासो व्यक्त गरेको छ । आज बिहान लाजिम्पाटमा पुगेर  नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले अष्ट्रेलिया भ्रमण स्थगित भएको विषयमा चासो ब्यक्त गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

राजदुत ग्लनले मिडियामा आएको जस्तो नभएको भन्दै आफु नियमित अष्ट्रेलियन सरकार, प्रहरी र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको जानकारी गराउनु भएको छ । जवाफमा प्रचण्डले वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले भ्रमण स्थगित गर्नुपरेको बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, मधेशी जनजातिलगायतको मागलाई सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहेको पनि राजदुत ग्लेनसामू स्पष्ट पार्नुभयो ।

अस्टे«लिया जान लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अन्तिम समयमा आएर भ्रमण स्थगित भएपछि विभिन्न टिप्पणी आएको थियो ।