Thaha

Saturday 20 April - 12:59 am NST

संसदको गतिरोध अन्त्यका लागि शीर्ष नेताहरु छलफलमा जुट्दै

काठमाण्डौं, असार १४ । संसदको गतिरोध अन्त्यका लागि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । अहिले संसद भवनको शंकर हलमा शीर्ष नेताहरुको बैठक बस्ने तयारी गरिएको छ । भूकम्पपीडितलाई दिइने २ लाख रुपैयाँ अनुदान एकमुष्ठ उपलब्ध गराउन्ुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसको माग सम्बोधनका विषयमा हिजो बनाएको ७ सदस्यीय कार्यदलले बिहान निकास निकाल्न नसकेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । शीर्ष तहमा छलफलपछि बेलुकी साढे ५ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सम्भावना प्रबल रहेको कार्यदल सदस्य एवं राप्रपा नेपालका नेता दिलनाथ गिरीले जानकारी दिनुभयो ।

यसअघि कांग्रेसले संसदमा सम्बोधन गर्ने विषयमा आफूहरुसँग छलफल नगरेको भन्दै प्रधानमन्त्रीलाई बोल्न दिएको थिएन । बिहान बसेको चार दलीय कार्यदलल काँग्रेसले किस्तामै दिने भए तत्काल दुई लाख दिने र दोस्रो किस्तामा एक लाख रुपियाँ दिनुपर्ने प्रस्ताव समेत गरेको कार्यदल सदस्य गिरीले जानकारी दिनुभयो । महँगीका कारण घर बनाउन दुई लाखले नपुग्ने भन्दै बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले एकलाख रुपैयाँ थपेर दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो । एक लाख थप्ने र दुई लाख एकमुष्ठ दिने विषयमा कार्यदलभित्र सहमति नबनेपछि त्यसलाई टुंगो लगाउने जिम्मा शीर्ष तहमा पठाइएको हो ।