Thaha

Saturday 20 April - 6:15 am NST

धानको उत्पादन १० प्रतिशतले घट्यो ।

काठमाण्डौं, असार १४ । नेपालमा यसवर्ष धानको उत्पादन घटेको छ । भुकम्प, नाकाबन्दी, खडेरी लगायतका कारण धानको उत्पादन गतवर्षको तुलनामा यो वर्ष १० प्रतिशतले घटेको कृषि विकास मन्त्रालयले जनाएको छ । नेपाल धानमा आत्मनिर्भर हुन अझै २÷३ वर्ष लाग्ने कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले जानकारी दिनुभयो ।

मन्त्रालयले सार्वजनिक गरेको कृषि विकास रणनीती कार्यान्यवमा लागेको भन्दै उहाँले धान खेतीमा यान्त्रिकरणबारे अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।  नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक युवराज पाण्डेले धान नेपालको प्रमुख खाद्यान्न बाली भएको भन्दै यसले देशको अर्थतन्त्रमा उल्लेखनीय भुमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार धानबालीले देशको कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत तथा कुल खाद्यान्न उत्पादको ५५ प्रतिशत योगदान पुर्याएको छ । नेपालमा झण्डै १४ दशमलव २ लाख हेक्टर जमिनबाट बर्षेनी ४७ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।  

कृषि विभागका महानिर्देशक डा युवक ध्वज जिसीले उन्नत प्रविधि अपनाई धान उत्पादनलाई बृद्धि गर्न सकिनेमा जोड दिनुभयो । नेपालमा कुल खेतीयोग्य जमिनको ५५ प्रतिशत भागमा धान खेती हुने गरेको छ । त्यसमध्ये ६८ प्रतिशत धान खेती तराईमा हुने गरेको  छ । तराई, पहाड र उच्च पहाडमा ६२ प्रकारका धानको खेती हुने गरेपनि माग अनुरुपको उत्पादन नहुँदा अहिले महिनाको करिब २ अर्ब रुपैयाँको चामल आयात हुन थालेको छ । युवाशक्तिको विदेश पलायन, खेतीयोग्य जमिन प्लटिङको रुपमा विकास लगायतका कारण धानको उत्पादन घटी चामलको आयात गर्नुपर्ने अवस्था छ ।