Thaha

Wednesday 24 April - 12:25 pm NST

चर्चित स्ट्राइकर मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं, १३ असार । 

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विहान कोपा अमेरिका फुटबलको फाइनलमा चिली विरुद्ध पेनाल्टी मिस गरेपछि तनावमा रहेका मेस्सीले सन्यासको घोषणा गरेका हुन् । अर्जेन्टिनाका तर्फबाट पहिलो प्रहार गरेका मेस्सीको बल पोष्टभन्दा निकै माथिबाट बाहिरिएको थियो । ‘मेरो लागि राष्ट्रिय टिमको यात्रा सकियो, मैले सक्नेजति गरेँ’, संचारकर्मी सामू मेस्सीले भने– तर टिमलाई उपाधि दिलाउन नसकेकोमा भने दुख लागेको छ ।

उनले देशका लागि नखेलेपनि आफ्नो क्लब फुटबलमा भने आफ्नो खेल जारी राख्ने बताएका छन् । उनी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । सन् २००५ मा राष्ट्रिय टिममा ड्ब्यु गरेका २९ बर्षीय मेस्सीले राष्ट्रिय टिमबाट १ सय १२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मेस्सीले सन् २००८ को ओलम्पिकबाहेक अन्य महत्वपूर्ण प्रतियोगितामा टिमलाई च्याम्पियन बनाउन सकेनन् ।

सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । सन् २००७ र २०१५ को कोपा अमेरिका फुटबलको च्याम्पियन बन्ने अवसर गुमाएको अर्जेन्टिना यस पटक पनि कोपा अमेरिकाको उपबिजेतामै चित्त बुझाउन बाध्य भयो ।