Thaha

Thursday 25 April - 12:59 pm NST

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै


काठमाण्डौं, असार १२ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दैछ । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि ऋणपत्र जारी गर्न लागिएको हो । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको जनाएको छ । बैंकले हिजो नै सूचना जारी गर्दै ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ । ऋणपत्र भने बोलकबोलबाट बिक्री वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।  आज दिउँसो ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरिद गर्न सक्नेछ । राष्ट्रबैंकले ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन मार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बोलकबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउनेछ । ऋणपत्रको ब्याजदर भने हरेक छ महिनामा भुक्तानी दिइने छ ।

ऋणपत्र खरिद गर्न चाहनेले एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी १० अर्बसम्मका लागि आवेदन दिन सकिने छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रूपमा ऋणपत्र राख्न सकिने छ । पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल एक खर्ब बढीको तरलता छ ।