Thaha

Wednesday 24 April - 10:35 am NST

प्रधानमन्त्री क्याम्रुनद्धारा राजीनामा दिने घोषणा ।

काठमाण्डौं, असार १० । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । हिजो भएको ऐतिहासीक जनमत संग्रहको परिणामसँगै प्रधानमन्त्री क्यामरुनले आगामी अक्टोवरसम्म राजीनामा दिने घोषणा गर्नुभएको हो । बेलायत ईयूमा रहनुपर्ने पक्षमा उभिएका क्यामरुनले जनमत संग्रहको नतिजा, बेलायत इयूबाट बाहिरनुपर्ने पक्षमा आएको औपचारीक घोषणापछि राजीनामा दिने बताउनुभयो ।

बेलायतका जनताले बेलायत ईयूबाट बाहिरिने बाटो रोजेपछि ‘जहाजको क्याप्टेन’ भइरहनु उपयुक्त नहुने प्रतिक्रिया दिंदै क्यामरुनले भन्नुभयो—देशलाई अब नयाँ बाटोमा हिंडाउन नयाँ र ताजा नेतृत्व आवश्यक देखिएको छ ।” तर आफू अहिलेपनि बेलायत ईयूमा रहँदा नै सुरक्षित र राम्रो हुनेमा प्रष्ट रहेको क्यामरुनले दोहोर्याउनुभयो । सन् २०१० मा प्रधानमन्त्री चुनिएका क्यामरुन २०१५ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएको थियो ।

आज बिहान सार्वजनीक गरिएको नतिजा अनुसार बेलायत ईयुको सदस्य भएको ४३ वर्षपछि भएको ऐतिहासिक जनमत संग्रहमा ईयूबाट बाहिरीने पक्षमा ५१ दशमलव ९ प्रतिशत र ईयुको सदस्य रहिरहने पक्षमा ४८ दशमलव १ प्रतिशत मत खसेको छ । ईयुको सदस्यता छोड्नुपर्ने पक्षमा आएको परीणामपछि यूकेआईपीका नेता निगेल फारागेले यसलाई बेलायतको स्वतन्त्रता दिवस भन्नुभएको छ भने ईयुका समर्थकले भने बेलायतका लागि विनाशकारी भनेका छन् ।

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले यो नतिजा देशका लागि दुखद भएको प्रतिक्रिया दिनुभएको छ ।