Thaha

Saturday 20 April - 3:42 pm NST

एस.एल.सी परीक्षाको परीक्षाफल आज प्रकाशित हुदै


काठमाडौं, २ असार । 
परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालमा लिइएको एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजनिक गर्दैछ । दिउँसो परीक्षा बोर्ड बैठक बसेर ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले जानकारी दिनुभयो । गएको बर्ष चैत १८ देखि २९ गतेसम्म संचालित परीक्षामा जम्मा ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी भएका थिए । कार्यालयले यसबर्षदेखि ग्रेडिङ पद्दतिमा परीक्षाफल प्रकाशन गर्ने भएको छ ।  परिक्षार्थीले प्राप्त गरेको अंकका आधारमा विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो ।

९० प्रतिशत भन्दा माथि अंक ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङ गरिने कार्यालयले जनाएको छ । नियमित, प्राविधिक र पुरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्कन पद्धतिअनुसार प्रकाशन गरिने छ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । परीक्षाको नतिजा शिक्षा मन्त्रालयको वेभसाइट moe.gov.np,  शिक्षा विभागको वेभसाइट doe.gov.np परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट soce.gov.np  बाट पनि थाहा पाउन सकिनेछ । नेपाल टेलिकमको जुनसुकै फोनबाट १६०० डायल गरी प्राप्त सन्देश बमोजिम परीक्षाको नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । टेलिकमकै वेभसाइट एसएलसी डट एनटीसी डट नेट डट एनपी मार्फत ग्रेड सिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ