Thaha

Thursday 25 April - 2:17 pm NST

नेपाल राष्ट्र बैंकद्धारा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतपत्र खुला


काठमाडौं, २३ जेठ । 
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आजदेखि झन्डै ३४ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री खुला गरेको छ । बार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र बिक्री खुला  गरेको हो । आज र भोलि दुइ दिन बिक्री गरिने बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले किन्न पाउँनेछन् । राष्ट्र बैंकका अनुसार बचत पत्र देश बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले किन्न पाउनेछ ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने राष्ट्र बैंकले जनाएको छ । यस्तै बचतपत्र गरिएको लगानीको सावाँ २०७८ मा फिर्ता हुने तर, व्याज भने हरेक ६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्र खरिदकर्ताले आफुले चाहेको समयमा यो बचतपत्र बिक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।  बचत पत्र कम्तीमा ५ हजार रूपैयाँदेखि बढीमा पाँच हजारले भाग गर्दा निषेश भाग जानेगरी निष्काशन हुने रकमसम्म लगानी गर्न पाइने छ । बचतपत्रको फारम आईएमई मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफर, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकमार्फत किन्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र किन्न राहदानी, आफु कार्यरत रहेको देशको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने तर भारतमा रोजगारीमा रहेका नेपालीका लागि भने राहदानी र भिसा आवश्यक नपर्ने बैंकले जनाएको छ ।