Thaha

Thursday 25 April - 9:53 am NST

६ दिन देखि हराईरहेका जापानी बालक फेला


काठमाडौं, २१ जेठ । जापानको होक्काईडोमा घना जंगलभित्र झण्डै एक हप्तादेखि हराईरहेका ७ वर्षिय बालक सकुशल फेला परेका छन् । यामातो तानूका नामका ति बालक शिकाबेमा रहेको जापानी सेल्फ डिफेन्स फोर्सको प्रशिक्षण केन्द्र भित्रको टहरोमा आश्रय लिईरहेको अवस्थामा स्थानीय समय अनुसार आज बिहान झण्डै ८ बजे फेला परेका जापानी सन्चारमाध्यमले जनाएका छन् । ६ दिन देखि भोकै रहेका उनलाई सुरक्षा फौजले खाना र पेय पदार्थ दिनुका साथै स्वास्थ्य परिक्षण समेत गरिएको छ । होक्काईडोको जंगलक्षेत्र भालु लाग्ने ठाउँ भएपनि यामातो सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार यामातोले पानी परेपछि ओत लाग्ने ठाउँ खोज्दै आफू प्रशिक्षण केन्द्रको टहरोमा पसेको बताएका छन् । पार्कमा ढुंगा फ्याँकेको भन्दै अभिभावकले उनलाई सजायँ दिनका लागि होक्काईडोको जंगल क्षेत्रमा छोडेका जापान टुडेले जनाएको छ । यामातोका आमाबाबुले शुरुमा प्रहरीलाई तरकारी खोज्न गएका बेला उनी हराएको बताएका थिए । तर पछि सजायँ दिन पाँच मिनेटका लागि एक्लै छोडेको तर फर्केर आउँदा उनी त्यहाँ नभएको बयान दिएका थिए ।

घटना सार्वजनिक भएसंगै उनको सुरक्षाका लागि राष्ट्रव्यापी रुपमा चासो बढेपछि ९ सय भन्दा बढी खोजीकर्ता खटाईएको थियो । यामोतो उनलाई अभिभावकले छोडेको ठाउँ भन्दा ६ किलोमिटर टाढा भेटिएका थिए ।