Thaha

Wednesday 24 April - 10:16 pm NST

संसदमा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुँदै


काठमाडौं, १७ जेठ । 
सरकारले आगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि सार्वजनिक गरेको बजेटमाथि आजदेखि संसदमा सैद्धान्तिक छलफल सुरु हुँदैछ । विहान ११ बजे बस्ने संसद बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिनुभयो । बजेट हावादारी भएको टिप्पणी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदमा चर्काे बिरोध गर्ने तयारी गरेको छ । आज पूर्व अर्थमन्त्री एवं काँग्रेस नेता डाक्टर रामशरण महतले विशेष समय लिएर बजेटमाथि टिप्पणी गर्ने काँग्रेसले निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको बैठकले बजेटको नकारात्मक पाटोका बारेमा पार्टीका पूर्व अर्थमन्त्रीलाई पालैपालो बोल्न पनि निर्देशन दिएको छ । एमालेले एकलौटी बजेट ल्याएको भन्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्र र राप्रपा नेपाल पनि असन्तुष्ट छन् । उनीहरुले पनि बजेटप्रतिको असन्तुष्टि संसदमा राख्ने र संशोधन प्रस्ताव दर्ता गर्नेतयारी गरेका छन् । एमालेले भने आफ्ना सांसदलाई बजेटमाथि हुने बिरोधको डटेर सामना गर्न र बजेटमाथि कुनै संसोधन नहाल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले गत शनिबार संसदमा १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट संसदमा पेश गर्नुभएको थियो । संसद सचिवालयका अनुसार बजेटमाथिको सैद्धान्तिक छलफल यहि २० गतेसम्म सक्ने तयारी गरिएको छ ।