Thaha

Saturday 20 April - 2:33 pm NST

ईन्डोनेशियामा बाल यौन अपराधीलाई दिईने सजायँ कडा,


काठमाडौं, १३ जेठ । ईन्डोनेशियाले बाल यौन अपराधीलाई दिईने सजायँ कडा पारेको छ । आजीवन काराबासदेखि रासायनिक बन्ध्याकरण सम्मको सजायँ रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जोको विडोडोले सजायँको कडा प्रावधान समेटिएको आदेशमा हस्ताक्षर गरेपछि नयाँ व्यवस्था लागू भएको हो । नयाँ व्यवस्था अनुसार बाल यौन अपराधी जमानतमा रिहा भएपछि उसको गतिविधी निगरानीका लागि उसको शरिरमा विद्युतीय डिभाईस लगाईने द जकार्ता पोष्टले जनाएको छ । ईन्डोनेशियाको सुमात्रामा गएको अप्रिलमा १४ वर्षिय किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको घटना पछि यौन अपराधीलाई कडा सजायँ दिनुपर्ने दबाब बढेको थियो । सजायँ सम्बन्धि आदेश सार्वजनिक गर्दै राष्ट्रपति विडोडोले बालबालिका विरुद्ध बढ्दो यौन अपराध रोक्ने उद्धेश्यले सजायँमा कडाई गर्ने निर्णय गरिएको बताउनुभयो । नयाँ व्यवस्थाले बाल यौन अपराधीलाई हुने जेल सजायँ १० वर्ष बाट बढाएर अधिकतम २० वर्षको बनाउनुका साथै उनीहरुको पहिचान सार्वजनिक हुने सम्मको प्रावधान समेटेको छ । कानून तथा मानवअधिकार मन्त्री यासोन ला लाओलीले राष्ट्रपतिले फास्टट्रयाकबाट जारी गरेको निर्देशनलाई कानूनी रुप दिन सदनमा प्रस्तुत गरिने बताउनुभयो ।