Thaha

Saturday 20 April - 11:12 am NST

ट्राफिक जरिवाना वृद्धिको बिरोधमा व्यवसायीद्वारा यातायात बन्द


काठमाडौं, १३ जेठ । ट्राफिक जरिवाना वृद्धिको विरोध गर्दै यातायात व्यवसायी र मजदुर संगठनले आज यातायात बन्द गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा यातायात व्यवसायी र मजदुर आबद्ध ८ वटा संगठनले यातायात बन्द आव्हान गरेका हुन् । सार्वजनिक गाडी नचलेपछि यात्रुहरु मर्कामा परेका छन् । काठमाण्डु उपत्यका लगायत देशैभर भाडाका सवारी साधन नचलेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । चक्काजाम आव्हान नगरिएपनि नीजि गाडी सन्चालकले पनि आफूहरुको आन्दोलनमा साथ दिएको महासंघका महासचिव सरोज सिटौलाले दावी गर्नुभयो । महानगरीय प्रहरी कन्ट्रोल रानीपोखरीले गाडी तोडफोड र सडक अवरोध गर्न खोज्ने १ सय ८९ जनालाई पक्राउ गरिएको जनाएको छ । महानगरीय प्रहरीका अनुसार काठमाडौंबाट १ सय ७३ र ललितपुरबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीले काठमाण्डुका विभिन्न ठाउँमा गरी पाँच वटा गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । मुख्य रुपमा ट्राफिक नियम उल्लंघनका लागि गरिने जरिवाना रकम बढाईएकोमा विरोध जनाएको बताएपनि यातायात व्यवसायीहरुले विभिन्न ६ बुँदे माग अघि सारेका छन् । जसमा जरिवाना वृद्धि सम्बन्धि व्यवस्था खारेज, विगतका सहमति कार्यान्वयन, समय सापेक्ष बिमा नीति र ढुवानी ऐन निर्माण, यातायात क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको व्यवस्था र सार्कका चार देशमा समान हैसियतमा सवारी साधन सन्चालन गर्ने सम्बन्धि व्यवस्था खारेज गर्नुपर्ने माग रहेका छन् ।