Thaha

Friday 19 April - 11:58 am NST

महिनावारीका बेला स्वच्छतामा ध्यान नदिंदा किशोरीहरुको स्वास्थ्य जोखिममा

काठमाडौं, ११ जेठ । 
महिनावारीका बेला स्वच्छतामा ध्यान नदिंदा नेपालमा महिनावारी हुने उमेरका किशोरीहरु स्वास्थ्य जोखिममा रहेको पाईएको छ । प्रजनन स्वास्थ्य र महिनावारी व्यवस्थापनका विषयमा पर्याप्त जानकारी नहुँदा उनीहरुको स्वास्थ्य संगै शैक्षिक विकासमा समेत बाधा पुगेको नेपाल प्रजनन स्याहार केन्द्रले जनाएको छ । एक अध्ययन अनुसार नेपालमा महिनावारीका बेला विद्यालयमा अनुपस्थित हुने किशोरीको दर ५३ प्रतिशत रहेको छ । वार्षिक रुपमा उनीहरु कम्तीमा ६ हप्ता विद्यालयमा अनुपस्थित हुने गरेकाले शैक्षिक प्रगतिमा प्रत्यक्ष प्रभाव परेको केन्द्रको भनाई छ । नेपाली समाजमा अझै पनि महिनावारी शुरु भएका बालिकाहरु बिहेका लागि योग्य हुने मान्यताका कारण छिटै बिहे गरिदिने गर्दा पनि विद्यालय छोड्ने दर उच्च रहेको देखिएको छ । यसले किशोरीहरुको प्रजनन स्वास्थ्यमा गम्भीर असर गर्ने र स्वस्थ बच्चा समेत जन्मिन नसक्ने भन्दै केन्द्रले स्वास्थ्य संग सरोकार राख्ने सबैले यसप्रति ध्यान दिनु अत्यावश्यक रहेको बताएको छ । केन्द्रका अनुसार नेपालमा हरेकदिन झण्डै २ लाख ९० हजार महिला तथा किशोरीमा महिनावारी हुने गरेको तथ्यांक छ । तर ग्रामिण क्षेत्रका ८२ प्रतिशत महिला र किशोरीहरुले महिनावारीका बेला सरसफाई र स्वच्छतामा ध्यान नदिंदा गम्भीर खालका प्रजनन स्वास्थ्य समस्या निम्तने गरेको छ ।