Thaha

Wednesday 24 April - 7:51 am NST

आज २५ ६० औं बुद्ध जयन्ती, बुद्धजन्मस्थल लुम्बिनीमा भब्य समारोह


काठमाडौं, ८ जेठ । 
आज वैशाख शुक्ल पूर्णिमा २५६० औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैंछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ ।  वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ । काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिने छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीका अवसरमासन्देश दिंदै सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणामा विश्वास राख्ने सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विविध जातजाति, भाषाभाषी, र धार्मिक तथा साँस्कृतिक सम्प्रदायबीच सहिष्णुता कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने अभियानमा सिद्धार्थ गौतमबुद्धका उपदेश तथा मार्गदर्शन सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय रहेको उल्लेख गर्नुभएको छ । 

बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बौद्ध विद्धान्, भिक्षु लगायतको सहभागिता रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । विश्व शान्तिको मुहान, भगवान् शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आज हुने २५६०औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा सहभागी हुन विदेशी तथा स्वदेशी पाहुना लुम्बिनी पुगेका छन । चीन, श्रीलङ्का, भारत, थाइल्यान्ड, अमेरिका, अस्टे«लिया, बर्मा, मङ्गोलिया लगायतका देशबाट बौद्धमार्गी भिक्षु, भिक्षुणी, लामा गुरु, बज्रयानी बौद्ध गुरु, उपासक र उपासिका लुम्बिनी पुगेका लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।  

कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी हिजै लुम्बिनी पुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित मुख्य दलका शीर्षनेता केहीबेरमा लुम्बिनी पुग्दैछन । औपचारिक कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने छ । लुम्बिनी सङ्ग्रहालय नजिक आयोजना गरिने धार्मिक कार्यक्रममा एक हजार जना लामा गुरु सहभागी हुनेछन । कार्यक्रमका लागि लुम्बिनीलाई निकै आकर्षक ढङ्गले सजाइएको छ । कार्यक्रमलाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । बुद्ध जयन्ती मूल समारोहमा काठमाण्डुमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको निष्कर्ष सहितको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।