Thaha

Saturday 20 April - 1:49 pm NST

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने एकीकृत माओवादीको संकेत


काठमाडौं, २२ वैशाख एकीकृत नेकपा माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान बसेको पदाधिकारी बैठक पछि विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको अपिल गर्नुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेको उल्लेख गर्दै प्रचण्डले सबै दलहरुलाई एकीकृत माओवादीको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियामा अघि बढ्न आग्रह गर्नुभएको छ । ‘शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्या समाधान, संविधान कार्यान्वयन र पुननिर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर वर्तमान सरकारलाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै प्रचण्डले बिज्ञप्तीमा भन्नुभएको छ ‘तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणममुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’ सभापतिमा निर्वाचित भएलगत्तै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइरहेका काँग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तनको बहस तिब्र भएको छ । काँग्रेसले सकभर आफ्नै, नभए माओवादीलाई नेतृत्व दिएर भएपनि वर्तमान सरकारको बिकल्प खोज्नुपर्ने छलफल अघि बढाएपछि माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।