Thaha

Friday 19 April - 11:22 pm NST

भ्रष्टाचारको आरोप लागेका पत्रकार दीक्षित साधारण तारेखमा रिहा


काठमाडौं, २० वैशाख । भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षित रिहा हुनुभएको छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले आज बन्दि प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै दिक्षीतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले विशेष अदालतले १० दिन म्याद थप्दा खुलाएको आधार चित्तबुझ्दो नभएकाले हिरासतमा राख्ने कुनै आधार नभएको ठहर गरेको छ । दीक्षितले भ्रष्टाचार गरेको भनिएको विषयमा अनुसन्धान गर्नुपरेमा साधारण तारेखमा राखेर अनुसन्धान गर्न अख्तियारलाई आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । दीक्षितकी पत्नी शान्ताले उहाँलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्चमा बन्दी  प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले यही बैशाख १०     गते पक्राउ गरेका दीक्षितलाई विशेष अदालतले दश दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।