Thaha

Tuesday 23 April - 8:24 pm NST

भारतको केरलामा मन्दिरमा आगलागी हुँदा कम्तीमा ८६ जनाको मृत्यु


काठमाण्डौ, २८ चैत । 
भारतको केरलामा एक मन्दिरमा आगलागी र भागदौडका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको छ । २ सय जना भन्दा बढी घाईते भएका छन् । घाईते म्ध्ये धेरै गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । केरलाको कोल्लम जिल्लामा रहेको पुट्टींगल देवी मन्दिरमा आज बिहान साढे ३ बजेतिर आतिशबाजीका क्रममा आगलागी भएपछि भागदौड मच्चिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । आगलागी हुने बेला मन्दिरमा पूजापाठ चलिरहेको र ठूलो संख्यामा भक्तजन लामबद्ध रहेको समाचारमा उल्लेख छ ।

स्थानीय अधिकारीका अनुसार आतिशबाजीका क्रममा आगोको झिल्का पटाका राखिएको स्थल खसेपछि त्यहाँ विष्फोट भएको र मन्दिर नजिकको एउटा भवन क्षतिग्रस्त भएको छ । केरलामा चार दिनपछि नयाँ वर्ष मनाउने तयारी भईरहेको र त्यसैको स्वागतका लागि मन्दिरमा विशेष उत्सव आयोजना गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । हरेक नयाँ वर्ष शुरु हुने बेला त्यहाँ आतिशबाजी प्रतियोगिता हुँदै आएको छ ।