Thaha

Friday 19 April - 11:47 am NST

पीए संगमाको निधन

काठमाडौं, २१ । भारतको लोकसभाका पूर्व सभामुख पीए संगमाको निधन भएको छ  ६८ वर्षीय संगमाको ह्रदयाघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । 
संगमाको निधनका कारण लोकसभाको काम कारवाही दिनभरका लागि स्थगित गरिएको छ । एघारौं लोकसभामा संगमाले सन् १९९६ देखि सन १९९८ सम्म सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । सन् १९७७ मा पहिलो पटक मेघालयको तुरा क्षेत्रबाट लोकसभामा विजयी भएका पूर्नो अगिटोक संगमा अर्थात पीए संगमाले नौ पटक चुनाव जित्नुभएको थियो । 
सन् २०१४ मा पनि उहाँले लोकसभामा चुनाव जित्नुभएको थियो । पहिले काँग्रेस आइको नेता रहेका संगमाले सन् १९९९ मा काँग्रेस आई अध्यक्ष सोनिया गान्धी विदेशी भएको मुद्दा उठाएर पार्टी छोड्नुभएको थियो । पछि शरद पवारसँग मिलेर नेशनलिष्ट काँग्रेस पार्टी खोलेपनि राष्ट्रपति चुनावका बेला पवारले वर्तमान राष्ट्रपति प्रणव मुखर्जीलाई समर्थन गरेपछि नेशनल पिपुल्स पार्टी बनाउनुभएको थियो । वर्तमान राष्ट्रपति मुखर्जीसँग राष्ट्रपति चुनाव लडेर उहाँले हार्नु भएको थियो ।