Thaha

Wednesday 24 April - 5:40 pm NST

नयाँ संसदका लागि ईरानी नागरीकहरु मतदान गर्दै


काठमाण्डौं, फागुन १४ । ईरानमा नयाँ संसद र विशेषज्ञहरुको विद्यानसभाका लागि अहिले निर्वाचन भईरहेको छ । ऐतिहासीक सम्झौतासँगै परमाणु कार्यक्रममाथि अन्तराष्ट्रिय प्रतिबन्ध हटेपछि ईरानी नागरीकहरुले पहिलो पटक मतदान गरिरहेको बिबिसीले जनाएको छ ।

झण्डै साढे ५ करोड ईरानी नागरीक मतदानका लागि योग्य रहेको त्यहाँको निर्वाचन अधिकारीहरुले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेदेखी सुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ । यो निर्वाचनले मुख्य धार्मिक संस्था मन्जलिसे खोंबरे—गानको विशेषज्ञ सम्मिलित विद्यानसभा निर्वाचित गर्नेछ जसले ईरानको सर्वोच्च नेता चयन गर्नेछ ।

संसदीय निर्वाचनले ४ बर्षका लागि २ सय ९० जना सांसद चयन गर्नेछ भने ८ बर्षको कार्यकाल रहने ८८ सदस्यिय विशेषज्ञहरुको विद्यानसभाका लागि १ सय ६१ जना उम्मेद्धार चुनावी मैदानमा  छन् । निर्वाचनमा कुनै राजनीतिक दल सहभागी नभएपनि २ सय ९० जना सांसद विभाजित भएर उदारवादी एजेन्डाको समर्थन र विपक्षमा उभिएका हुन् ।

निर्वाचन अधिकारीहरुका अनुसार खोबरेगान विद्यानसभाको नतिजा दुई दिनभित्र सार्वजनीक भएपनि संसदको अन्तिम नतिजा भने अप्रैलमा मात्र आउनेछ । उम्मेद्धारहरुलाई जीतका लािग कम्तीमा पनि २५ प्रतिशत मत आवश्यक रहेको अधिकारीहरुले बताएका छन् । ईस्लामी गणराज्यको स्थापना गरेका ७६ बर्षिय अयातुल्लाह अली खुमैनी खोवरे—गानका नेता छन् जो अहिले अस्वस्थ छन् ।

संसदमा कट्ठरपन्थी र उदारवादी समूहवीच कडा प्रतिस्पर्धा देखिएको छ । राष्ट्रपती हसन रुहानी र पूर्व राष्ट्रपती अकबर हाशमी रँफसञ्जानी चुनावमा छन् । राष्ट्रपति रुहानीले गतवर्ष जुलाईमा परमाणु सम्झौतामा हस्ताक्षर गरेपछि दुई खेमावीच संघर्ष चल्दै आएको छ । कट्ठरवादी खेमाले  हसन रुहानीको विदेश नीति र देशमा राजनीतिक सुधारको विरोध गदै आएको छ ।