Thaha

Thursday 25 April - 6:58 am NST

नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा हुने


काठमाडौं, २ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा हुने भएको छ । आज सिंहरदबारमा बसेको पदाधिकारी र महाधिवेशन तयारी समिति संयोजकहरुको संयुक्त बैठकले महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेसको महाधिवेशनको उद्घाटन त्रिपुरेश्वरस्थित रंगशालामा गर्ने भनिएको थियो । कांग्रेसको महाधिवेशन यही फागुन २० देखि सुरु हुँदैछ । बैठकमा महाधिवेशनको तयारीका विषयमा१३ वटा तयारी समितिका संयोजकले आवश्यक तयारी गरिसकेको रिपोर्टिङ गरेका थिए । बैठकपछि दिउँसो कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता नवीन्द्रराज जोशीलगायतले खुल्लामञ्च पुगेर त्यहाँको निरीक्षण गरेको कांग्रेसले जनाएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङको उपस्थितिमा कांग्रेस नेताहरु खुलामञ्चको निरीक्षण गरेका थिए । भूकम्पपछि पुननिर्माण र सरसफाइ बाँकी रहेको खुलामञ्च तयारीका लागि कांग्रेस नेताहरुले महानगरका कार्यकारी निर्देशक तामाङलाई आग्रह गरेका छन् । कार्यकारी तामाङले फागुन १५ गतेभित्र खुलामञ्च सफाई र तयारी गरिसक्ने जवाफ दिएको नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।  सभापति सुशील कोईरालाको निधन भएपछि केही दिन रोकिएको महाधिवेशनका काम कारबाहीलाई काँग्रेसले हिजोदेखि फेरि सञ्चालन गरेको हो ।

पार्टीको सभापतिका लागि संस्थापन र देउवा दुवैपक्ष आन्तरिक तयारीमा लागिरहेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा आफ्नो खेमाको एकमात्र उम्मेदवार हुनुहुन्छ भने संस्थापन पक्षले अझै उम्मेदवार तोक्न सकेको छैन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल उम्मेदवार बन्ने पहिलेदेखि नै चर्चा रहे पनि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र सुजाता कोईरालाको दाबीले समस्या पारेको छ । पार्टी प्रवक्ता दिलेन्द्र बडुले सहमतिका लागि उम्मेदवार एक जनालाई उम्मेदवार बनाउनेदिशामा छलफल चलिरहेको बताउनुभयो ।