Thaha

Thursday 25 April - 10:16 am NST

नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेकाहरु प्रहरीको फन्दामा

काठमाडौं, २३ माघ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्रेको छ । 
प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस अध्ययन गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान विभागको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा झापा अनारमनी घर भई बिएनसी हस्पिटल बिर्तामोड झापामा कार्यरत रामबाबु गिरी, मोरङ कटहरी घर भई पशुपति मोडेल अस्पताल इटहरीको प्रमुख भई कार्य गर्दै आएका पशुपति चौधरी, सप्तरी कल्याणपुर घर भई गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद कमरुल हक, सप्तरी बैरवा घर भई कोसी अञ्चल अस्पताल मोरङमा कार्यरत तुलसीकुमार महतो रहेका छन् । 
यसैगरी, धनुषा लोहना घर भई ग्लोवल अस्पताल मिर्चैया सिराहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी, महोत्तरी हात्तीसर्वा घर भई जनकपुर अञ्चल अस्पताल जनकपुरमा कार्यरत सन्तोषकुमार यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई चानसी मेडिकल हल जनकपुरमा कार्यरत कल्याण विश्वास रहेका छन् । त्यस्तै सिराहा विष्णुपुर घर भई कलेज अफ मेडिकल साइन्स कलेज भरतपुर, चितवनमा कार्यरत विनिता यादव, धनुषा जिल्ला जनकपुर नगरपालिका घर भई अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, धनुषा सत्तोखर घर भई रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्रकुमार महतो, कपिलवस्तु तौलिहवा नगरपालिका घर भई    स्वास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलवस्तुमा कार्यरत अफजल हुसैन, महोत्तरी औरही घर भई ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत श्यामबाबु साह रहेका छन् ।     
चिकित्सकहरुको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले नक्कली प्रमाणपत्रहरुको आधारमा अध्ययन गरी त्यही आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिई चिकित्सक बनी काम कार्य गरेको, चिकित्सक दर्ता परीक्षा उत्तीर्ण नै नभई बिना दर्ता प्रमाणपत्र रजिस्टर्ड चिकित्सक भनी ठगी गर्नेहरुको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेको ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो । ब्युरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा ‘अपरेसन क्वाक’ प्रारम्भ गरी छानबिन अनुसन्धान हुँदा विभिन्न तहका नक्कली प्रमाणपत्र पेस गरेका उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये नेपालबाट प्रवेशिका र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र सार्व्जिक गर्ने एकजना, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने १० जना र भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्ने एकजना रहेका छन् । 
चिकित्सा पेसामा संलग्न १५० भन्दा बढी व्यक्तिहरुको शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल चिकित्सक सङ्घले भने चिकित्सा शास्त्रसम्बन्धी पढाइ सकेर देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकलाई नक्कली चिकित्सक भएको आशङ्कामा पक्राउ गरिएको बारे जतिसक्दो चाँडो छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छ ।