Thaha

Friday 19 April - 6:35 pm NST

नाकाबन्दीले ठूला जलविद्युत आयोजनामा प्रभाव : लगानी बोर्ड

Caption

काठमाडौं २४ पुस । लगानी बोर्डले भारतीय नाकाबन्दीका कारण ठूला विद्युत आयोजनाको काममा समेत प्रभाव परेको जनाएको छ । ९ सय मेगावाटको माथिल्लो कर्णाली, ९ सय मेगावाटको अरुण तेस्रो र ७ सय ५० मोगावाटको पश्चिम सेती जस्ता ठूला आयोजनाको काम इन्धन अभावमा प्रभावित भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी दिनुभयो । 
काठमाडौंमा पत्रकार सम्मेलन गरेर बोर्डले माथिल्लो कर्णाली परियोजनाको काम इन्धन अभावमा प्रभावित भएपनि एक डेढ महिना भन्दा ढिलो नहुने बताउनुभयो । परियोजनाका लागि स्रोत जुटाउने लगायतका काम भैरहेको तर लगानी कर्ताले स्वागतयोग्य वातावरण नभएको भन्ने गुनासो गरेको पनि पन्तले जानकारी   दिनुभयो । ९ सय मेगावाटको अरुण तेस्रोको काम पनि अगाडी बढी रहेको उहाँले जानकारी दिनुभयो । आयोजना स्थलमा अहिले ५५ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भैरहेको छ । त्यहाँ वन र भूमि व्यवस्थापनको समस्या रहेको आयोजनाले जनाएको छ । त्यस्तै ७ सय ५० मेगावाटको पश्चिम सेती परियोजनाको काम पनि अगाडी बढीरहेको बोर्डले जनाएको छ । त्यहाँ ३ सय परिवार प्रभावित हुने देखिएको र उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । यसैबीच, हावाबाट बिजुली उत्पादन गर्ने विषयमा बोर्डले अध्ययन थालेको छ । बोर्डले नीतिगत व्यवस्था नहुँदा काम अगाडी बढाउन समस्या भएपनि अध्ययन अनुसन्धानको काम अगाडी बढाइएको र नेपालमा ३ सय मेगावाट हावाबाट विद्युत उत्पादन गर्न सकिने जनाएको छ । हावाबाट बिजुली निकाल्ने विषयमा मनाङ, मुस्ताङ लगायतका जिल्लाको अध्ययन समेत शुरु भएको छ । यूरोपका विभिन्न देशमा धेरै प्रयोगमा आएको हावाबाट बिजुली निकाल्ने प्रविधिका बारेमा नेपालमा सन् २००२ र सन् २००८ मा सामान्य अध्ययन भएदेखि अरु कुनैपनि प्रकारको अध्ययन अनुसन्धान हुन सकेको छैन ।