Thaha

Thursday 25 April - 9:38 am NST

पत्रकार दुर्घटना बीमा आजदेखि प्रारम्भ, पहिलो चरणमा ५ सय ५४ जना श्रमजीवी पत्रकारको बीमा

 

काठमण्डौं, १० मंसिर । 
सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा आजदेखि पत्रकार दुर्घटना बीमा प्रारम्भ भएको छ । महासंघको केन्द्रिय कार्यलयमा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकार दुर्घटना बीमाको शुभारम्भ गर्नु भएको हो । उहाँले पत्रकार बिमालाई अझ फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । भने सन्चारनीतिको पुनरावलोकन, प्रशिक्षण प्रतिष्ठान स्थापनालगायतका अन्य मुद्दालाई पनि चाँडै सम्वोधन गर्ने बताउनु भयो । पहिलो चरणमा आज महासंघमा आवद्ध भई सूचना विभागबाट प्रक्रिया पूरा गरेका ५ सय ५४ जना श्रमजीवी पत्रकारको बीमा भएको नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले जानकारी दिनुभयो । 

पत्रकार दुर्घटना बीमा व्यवस्थापन निर्देशिका २०७० बमोजिम श्रमजीवी पत्रकारका लागि बिमा गरिएको हो ।  दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोमा ५ लाख रुपियाँसम्म र दुर्घटनबाट उत्पन्न उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा २ लाख रुपियाँसम्मको वास्तविक खर्च व्यहोरिने छ । बिमा योजना अन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको छ । यसअन्तर्गत प्रति व्यक्ति वार्षिक प्रिमियम ३ सय ३९ रुपैयाँ मध्ये सरकारी कोषबाट २ सय ५४ रुपैया ७५ पैसा र महासंघबाट ८४ रुपैयाँ ७५ पैसा व्यहोरिने छ । 

बिमित हुनका लागि सूचना विभागबाट जारी प्रेस पास र महासंघ सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान छ । आज बीमा गरिएको बाहेक अन्य पत्रकारको विवरण संकलन जारी रहने र अर्को चरणको बीमा कार्यक्रम चाँडै कार्यान्वयन गरिने सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेकोमा सरकारलाई धन्यवाद दिँदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्वास्थ्य बीमा, मिडिया नीति र कानुनको पुनरावलोकन, प्रशिक्षण प्रतिष्ठान स्थापनालगायतका विषयको पनि चाँडै सम्वोधन हुने विश्वास व्यक्त गर्नुभयो ।