Thaha

Friday 19 April - 4:54 am NST

आज पनि असन्तुष्ट दलसंगको वार्तालाई निरन्तता दिने


काठमाडौं, १६ असोज । मुख्य तीनदलले बनाएको वार्ता टोलीले आज पनि असन्तुष्ट दलसंगको वार्तालाई निरन्तर्ता दिने भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष  विजयकुमार गच्छदार नेतृत्वको मोर्चासंग वार्ता गर्ने तयारी भैरहेको वार्ता टोलीका सदस्य एवं एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

यसैबीच संघीय समाजवादी फोरमका अध्यक्ष  उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चासंगको छलफल भने मुख्य तीनदलको बैठकपछि टुंगो लाग्नेछ । माओवादी नेता प्रकाशका अनुसार  दिउँसो तीनबजेपछि नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्षनेताको बैठक बसेपछि मात्र मोर्चासंगको वार्ताको टुंगो लाग्नेछ ।

सरकारले वार्ताको वातावरण बनाउनका लागि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशिताका अधारमा राज्यका अंग तह र निकायमा प्रतिनिधित्वको प्रत्याभूति गर्ने प्रतिवद्धता जनाएको छ । यसका लागि संविधान संशोधन विधेयकको तयारी पनि गरिएको छ ।

यसैबीच आन्दोलनरत मधेसी मोर्चामा आवद्ध दलका नेताहरुले आन्तरिक छलफलका आधारमा औपचारिक वार्ता गर्ने या नगर्ने भन्नेकुराको टुंगो लगाउँदैछन । आज बेलुकीसम्म नभए भोलीसम्म आन्तरिक छलफल गरेर औपचारिक वार्तामा बस्ने तयारी मोर्चामा आवद्ध दलले गरेका छन ।