Thaha

Wednesday 24 April - 9:18 pm NST

अघोषित नाकाबन्दी नहटेसम्म निजी गाडीले इन्धन नपाउने–नेपाल आयल निगम


काठमाडौं, १६ असोज । भारतको अघोषित नाकाबन्दी नहटेसम्म निजी गाडीले इन्धन नपाउने भएका छन् । नेपाल आयल निगमले बिहीबारदेखि तीन दिनका लागि निजी सवारीलाई तेल नदिने निर्णय गरेको थियो ।

तर भारतबाट तेल नआएको र मौज्दात तेल पनि सकिँदै गएकाले अब नाकाबन्दी नहटेसम्म निजी गाडीलार्ई तेल दिन नसकिने निगमका प्रवक्ता दीपक बरालले बताउनुभयो । अहिले निगमले सार्वजनिक गाडि तथा अत्यावश्यक सेवाका लागि मात्रै तेल उपलब्ध गराइरहेको छ ।

निगमले आइतबारदेखि काठमाडौं उपत्यकामा ट्याक्सीलाई दिँदै आएको तेल पनि कटौती गर्ने भएको छ । यात्रुसँग बढी भाडा असुलेको भन्दै निगमले अहिले एक दिन बिराएर दिँदै आएको तेल अब हप्तामा एक पटक मात्रै दिने तयारी गरेको बरालले बताउनुभयो ।

दशैं नजिकएकाले सकभर सार्वजनिक सवारी साधनलाई सहज रुपमा इन्धन उपलब्ध गराउने प्रयासमा गरिएको निगमको दाबी छ । पछिल्लो पटक विभिन्न नाकाबाट फाट्टफुट्ट इन्धन बोकेका गाडि नेपाल भित्रएपनि त्यो असाध्यै न्यून रहेको प्रवक्ता बरालले बताउनुभयो । अहिले पनि तेल बोकेका १ सय ६० भन्दा बढी ट्याङकर र २ सय ५० बुलेट ग्यास सीमा नाकामा रोकिएका छन् ।