Thaha

Wednesday 24 April - 10:30 am NST

नुवाकोटका निर्मल तामाङ डिआइडी टप टेनमा

काठमाडौं २५ भदौ । भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी)को उत्कृष्ट १० मा एक नेपाली पुग्न सफल हुन्भएको छ । 
नुवाकोट विदुर नगरपालिका, त्रिशुलीबजार–११का २३ वर्षीय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल हुनुभएको हो । भूतपूर्व भारतीय सेना शेरबहादुर तामाङका कान्छा छोरा निर्मल बैशाखदेखि डीआईडी प्रतियोगितामा संषर्घ गरिरहनुभएको छ । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवर्ती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिबार र आईतबार राती सवा नौबजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट दशपछि छनोट हुनेलाई भोटिङको सहारा लिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न डिआइडी ५ स्पेस एनआइआर लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्ने हुन्छ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उहाँलाई भोट गर्न सकिने छ । जसको लागि www.zeetv.com/nir लेखेर अनलाइन भोटिङ गर्न सकिने छ । 
भोटिङ गर्ने समय शनिबार राति नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिने भएकाले उहाँलाई जिताउन नेपालीको भोटको अपेक्षा उहाँका परिवारले गरेका छन् । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उहाँका बुवा शेरबहादुरले सबैलाई आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रशान्त तामाङ र तेरिया मगरले यस्तै, ठूलो रियालिटी शोमा विजयी भएका थिए ।