Thaha

Tuesday 23 April - 1:56 pm NST

स्वामी प्रपन्नाचार्यको निधन

काठमाण्डौं, ४ भदौ । पूर्विय संस्कृतिका ज्ञाता स्वामी प्रपन्नाचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको संक्रमण, पिसाव र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित उहाँको ९२ वर्षको उमेरमा बिहान साढे ३  बजे  काठमाडौंको पशुपति मृगस्थलीमा निधन भएको हो ।

उहाँको दिउँसो पशुपती आर्यघाटमै अन्तिम दाहसंस्कार गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले जानकारी दिनुभयो । स्वामी प्रपन्नाचार्य पशुपति मृगस्थलीमा रहेको चन्द्रेश्वर सतलमा बस्दै आउनुभएको थियो ।

उहाँको वास्तविक नाम काले राई हो । उहाँको जन्म पाँचथरमा सन् १९२३ मा भएको थियो । उहाँले ३० बर्षको उमेरपछि पढ्न शुरु गर्नुभएको थियो । विक्रम संवत २०१० सालमा एकजना गुरुका साथ लागेर भारतको बनारस जानुभएका उहाँ २०३७ सालमा नेपाल आएर धर्म, संस्कृतिको प्रचारप्रसारमा लाग्नुभएको थियो ।

राई परिवारमा जन्मिएर पनि वेदको ज्ञाता बन्नुभएका उहाँलाई संस्कृत विश्वविद्यालयको महाविद्यावारिधि प्रदान गरिएको थियो । विभिन्न धर्म, संस्कृतिका वारेमा पुस्तक लेख्नुभएका स्वामि प्रपन्नचार्यलाई वेदमा के छ ? नामक पुस्तकका लागि सन् १९८३ मा गुणराज पुरस्कार प्रदान गरिएको थियो ।