Thaha

Friday 26 April - 2:05 am NST

२० जिल्लामा व्यवसायिक बाख्रा पालन कार्यक्रम

काठमाण्डौं, ३ भदौ । सरकारले विभिन्न २० जिल्लामा व्यवसायिक बाख्रा पालन कार्यक्रम शुरु गर्दैछ ।

भदौंको अन्तिमबाट २० जिल्लामा व्यवसायिक बाख्रा पालन कार्यक्रम शुरुगर्ने तयारी भएको पशु उत्पादन निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर लोकनाथ पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा बाख्राको खोर निर्माण, औषधी, घाँस, किसानलाई तालिम, उन्नत बोकाको व्यवस्था, बन्ध्याकरण र उत्पादित बाख्राको बजारका लागि किसानलाई सघाईने छ ।

यो कार्यक्रमले यो आर्थिक वर्षमा ५ हजार किसानलाई प्रत्यक्ष फाईदा पुग्ने पौडेलले बताउनु भयो । यसैबीच युवा लक्षित बाख्रा पालन कार्यक्रम प्रति युवा किसान आकर्षित भएका छन । यो कार्यक्रम अन्तरगत सरकारले ५० वटा बाख्रा पाल्ने किसानलाई २ लाख रुपैयाँसम्म अनुदान रकम दिने गरेको छ । समूहमा ५ जनाले १० दशवटा बाख्रा पालेमा र सहकारी मार्फत बाख्रा पालन गरेमा पनि डेढ देखि दुई लाख रुपैयाँसम्म अनुदान दिईनेछ ।

नेपालमा मासुको माग बढ्दो र आपूर्तिका लागि भारत तथा चीनको भरपर्नुपर्ने बाध्यताका कारण सरकारले व्यवसायिक बाख्रा पालन कार्यक्रमलाई प्रोत्साहन गर्दै आएको छ । एकजना स्वस्थ व्यक्तिले वार्षिक १४ किलो मासु खानुपर्ने भएपनि नेपालमा ११ किलो मात्र पुग्ने गरेको छ ।