Thaha

Thursday 25 April - 11:56 am NST

बोक्सी सम्बन्धि कानून कार्यान्वयन पक्ष बलियो हुनुपर्छ– अधिकारकर्मी


काठमाण्डौ १९ साउन । महिला अधिकार कर्मीहरुले बोक्सी सम्बन्धि कानून आउनु सकारात्मक भएको भन्दै यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिएका छन् । बर्षेनी कयौ महिलाले बोक्सी आरोपमा दुव्र्यबहार सहनु परेको तथा केहिले ज्यानै गुमाउनु परेको अवस्थामा त्यसलाई अपराधको रुपमा स्वीकार गर्ने कानुन आउनु सकारात्मक भएको प्रतिक्रिया दिए ।

थाहासन्चार नेटर्वकसँग कुरा गर्दै माओबादी नेतृ एवम् सभासद रेखा शर्माले ऐन आउनु सकारात्मक भएको र यसलाई कार्यान्वयन गर्न संसदमा आवाज उठाउने बताउनुुभयो । यस्तै राष्ट्रिय मानबअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले बोक्सी सम्बन्धि कानुनले कयौको बाच्न पाउने अधिकार सुनिश्चित गरेको टिप्पणी गर्नुभयो । बोक्सी सम्बन्धि हुने गरेका विभिन्न घटनालाई अपराध मानेर कानुन आउनु सकारात्मक भन्दै त्यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताउनुभयो ।

यस्तै महिला अधिकारकर्मी एवम् अधिबक्ता मिरा ढुंगानाले कानुनले विगतमा भन्दा सजायको व्यबस्था कडा पारेकोले कार्यान्वयन पक्ष दह्रो भए यसले समाज परिवर्तमा सहयोग पुर्याउने बताउनुभयो । 


राष्ट्रपतिद्वारा बिद्येक प्रमाणीकरण


संसद्ले साउन १६ गते पारित गरेको बोक्सीको आरोप (कसुर र सजाय) बिद्येकलाई राष्ट्रपति  रामवरण यादवले हिजो प्रमाणीकरण गरेसँगै त्यसले कानुनी रुप पाएको छ । प्रस्ताव गरेको करिब ६ वर्षपछि ऐन पारित भएको हो ।

धामी झाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सीको आरोप लगाउनेलाई सात वर्षसम्म कैद र ७० हजार जरिवाना हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनेछ ।

बोक्सी आरोपमा कुटपिट गर्ने, डाम्ने, पोल्ने वा रासायनिक, बिषालु वा जैविक पदार्थको प्रहार गर्न नपाउने व्यवस्था ऐनले गरेको छ । ऐनमा यातना दिएको प्रमाणित भए १० वर्ष कैद र एक लाख जरिवाना, अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र ३० हजार जरिवाना, निकाला गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना, धामी झाँक्रीको माध्यमबाट आरोप लगाउनेलाई सात वर्ष कैद र ७० हजार जरिवानाको व्यवस्था गरिएको छ ।