Thaha

Friday 26 April - 1:49 am NST

छोरा बचाइदिन ठाकुर नेपालीको याचना

काठमाडौं, १६ साउन । नुवाकोट जिल्ला खानीगाउँ–६ ढिकुरेका ठाकुर नेपालीले दुवै मिर्गौला फेल भएका आफ्ना छोराको उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताउँदै काठमाडौंको शिक्षण (टिचिङ)अस्पताल महाराजगन्जमा उपचाररत छोरा २६ वर्षीय राजकुमार बागदासको ज्यान बचाइदिन देश–विदेशमा रहेका नेपालीलाई आग्रह गरेका हुन् । 
मिर्गाैला पीडित राजकुमारका पिता ठाकुरले सहयोग गर्न चाहनेले आफ्नो मोबाइल नम्बर ९८४९८५३३३६, श्याम बागदास ९८४९१४८२६९ (दाजु) र राष्ट्रिय बाणिज्य बैंक, विदुर नुवाकोटमा ठाकुर नेपालीको नाममा रहेको खाता नंं. १७७०००५०७६१० रकम जम्मा गर्न सक्ने बताए ।
थाहा सञ्चारसँगको कुराकानीमा ठाकुरले दुखेसो पोखे, ‘छोराको मिर्गौला प्रत्यारोपणका लागि कम्तिमा आठ लाख चाहिने छ, डक्टरले छिटो गर भनिरहनुभएको छ तर पैसा छैन के गरुँ । ‘डक्टरले अप्रेसन गरेपछि राजकुमार(छोरा)लाई बचाउन सकिन्छ भनेकोले आफन्त, शुभचिन्तक एवम् सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरुमा अनुरोध गर्छु’ ठाकुरले भने । आफ्ना कान्छा छोरा राजकुमारको करिब महिना दिन अघिदेखि दुवै मिर्गौलाले काम गर्न नसक्ने कारण पत्ता लागेको भन्दै ठाकुरले छोरालाई श्रीमती उजेली नेपालीले मिर्गाैला दान दिने जानकारी गराए । 
तीन छोरामध्येका कान्छा राजकुमारलाई बचाउन पाए उनले जीवनमा केही गर्लान् भन्ने आशा रहेको भन्दै ठाकुरले भने, ‘खेत भए एक रोपनी बेचेरै उपचार गर्थे तर छैन’  । ठाकुरले छोराको डायलसीस र औषधिमूलो गर्दा अहिलेसम्म तीन लाखजति सकिसकेको जानकारी दिए । ठाकुरले भने, ‘छोराको उपचारका लागि घरबाट निकाल्ने खुबी भएन, सहयोग गर्छु भन्ने त धेरै आउनुभएको छ तर पैसा जम्मा गर्न आउनुभएको छैन । हेरौं, भगवानको कृपाले सहयोग जुट्ला कि ! 
ज्याला मजदुर गरेर काठमाडौंमा कक्षा बाह्रमा अध्ययनरत मृगौला रोगी राजकुमारलाई बचाउन पाएमा उनको बिहे गरौंला र बुढेसकालमा सहारा होला भन्ठानेछु, ठाकुरले मलिन स्वरमा भने ।