Thaha

Saturday 20 April - 3:32 am NST

नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा

काठमाण्डौं १६ साउन । नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कुटनीतिक सम्बन्ध भएको थियो । 


कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले छ्ट्टा–छुट्टै बधाई सन्देश जारी गरी शुभकामना आदान–प्रदान गरेका छन् । राष्ट्रपति डाक्टर रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बठाएको शन्देशमा पञ्चशीलका सिद्धान्तले द्विपक्षीय सम्बन्धमा शान्तिपूर्ण सहअस्तित्वका मजबुत आधार उपलब्ध गारएको बताउनुभएको छ । 

त्यसैगरी राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी यादवलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल–चीन असल छिमेकी हुन् भन्दै बितेका ६० वर्षमा द्विपक्षीय सम्बन्ध निरन्तर परिपक्क भइरहेको बताउनुभएको छ । 

त्यसैगरी नेपालका प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङलाई पठाउनुभएकोसन्देशमा नेपाल–चीन सम्बन्ध आपसी लाभका निम्ति पारस्परिक सम्मान, समझदारी, विश्वासबाट सुदृढ भएको बताउनुभएको छ ।

 

त्यसैगरी चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री कोइरालालाई पठाउनुभएको बधाई सन्देशमा चीन–नेपाल सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेको तथा साना र ठूला छिमेकी मुलुकबीच समानस्तरको मैत्रीपूर्ण सम्बन्ध कायम गरेर असल दृष्टान्त प्रस्तुत गरेको बताउनुभएको छ । 

 

यसैगरी परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र उहाँका चिनियाँ समकक्षी याङ यीले पनि पारस्परिक सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्नुभएको छ ।

काठमाण्डौमा पदयात्रा

कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पुगेको अवसरमा आज बिहान काठमाण्डौमा पदयात्रा निकालिएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको पदयात्राको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्यसचिव लीलामणि पौड्याल र नेपालका लागि चीनका राजदूत उ चुन्ताइले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रारम्भ भएको पदयात्रा घण्टाघर–रत्नपार्क–सहिदगेट–नयाँसडक हुँदै वसन्तपुर दरबारक्षेत्रमा पुगेर टुङ्गिएको थियो । नेपाल–चीन सम्बन्धलाई दिगो बनाउन तथा दुई पक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन पदयात्रा आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो ।