Thaha

Saturday 20 April - 11:00 am NST

म्यानपावर कम्पनिहरु खुले, २० दिनमा ३ करोड घाटा

काठमाण्डौ १० साउन । २० दिनदेखि बन्द रहेका देशभरका म्यानपावर कम्पनिहरु आजदेखि खुलेका छन् । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघबीच हिजो भएको वार्तामा ३१ बुँदे सहमती भएपछि बन्द रहेका म्यानपावर कार्यालय आजदेखि खुलेका हुन् । 

असार २१ गतेदेखि मलेसिया र खाडीका ६ मुलुकमा निःशुल्क हवाई टिकट र भिषाको व्यवस्था गरेपछि आफ्ना कार्यालय नै बन्द गरी व्यबसायी आन्दोलनमा उत्रिएका थिए । श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा निःशुल्क हवाई टिकट र भिसाको विषय टुङ्ग्याउने लगायतका ३१ बुँदामा सहमति भएको संघका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो । 

कार्यदलको प्रतिवेदन नआउँदासम्म मन्त्रालयले गरेको निःशुल्कको निर्णय यथावत रहने र प्रतिवेदन आएपछि आवश्यकता अनुसार परिमार्जन गर्न सकिने दुबै पक्षबीच सहमति भएको छ । २० दिनको अवधिमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको कामदारको टिकट र भिषा रद्ध गर्नुपर्दा ३ करोड जति घाटा परेको संघले जनाएको छ ।