Thaha

Friday 26 April - 4:57 am NST

वैदेशीक रोजगार व्यवसायीको आन्दोलन अझै अनिश्चित


सरस्वती अधिकारी
काठमाण्डौँ, ९ साउन । सरकार र आन्दोलनरत वैदेशीक रोजगार व्यवसायीवीचको वार्ता अन्यौलमा परेको छ । साउन महिना लागेपछि दुवै पक्षवीच निरन्तर वार्ता हुन सकेको छैन । भएका वार्ताहरुमा पनी सहमती जुट्न नसकेपछि व्यवसायीको आन्दोलनको टुँगो लागेको छैन ।

श्रम तथा रोजगार मन्त्रालयले आन्तरीक छलफलपछि आज वार्तामा बोलाउने बताएको रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताउनुभयो । आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै उहाँले आन्दोलन र वार्ता सँगसँगै लगिएको बताउनुभयो । फ्रि भिसा फ्रि टिकटको निर्णय स्थगित गरी उच्चस्तरीय आयोग बनाएर अध्ययन गर्नुपर्ने माग सरकारले सुनुवाई नगरेकाले अझैपनी समस्या समाधान कहिले हुन्छ भन्ने अन्यौल रहेको ढकालको भनाई छ ।

सरकारले विदेश जान असार २१ अगाडी प्रकृया थालेकाहरुलाई श्रम स्विकृती दिईसकेको छ तर आन्दोलनमा रहेका म्यानपावर व्यवसायीहरु कार्यालय नखोल्दा विदेश जाने तयारीमा रहेका कामदारहरु अन्यौलमा परेका छन् । केही म्यानपावरहरुले सँस्थागत रुपमा श्रम लिएपनि केही आन्दोलनमै छन् । व्यवसायको आन्दोनलका वावजुद अहिलेसम्म व्यक्तिगत र सँस्थागत गरी २ हजारभन्दा बढीको श्रम स्विकृत भईसकेको श्रम मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो । हिजोमात्रै करीब ९ सय जनाले श्रम लिएका छन् ।

व्यवसायीको आन्दोलनका कारण विदेश जान रोकिएकाहरु भने थप समस्यामा पर्दै गएका छन् । काम गर्न जान लागेका कम्पनीहरुले अझै ढिला गरे भिसा नै खारेज गरीदिने सम्भावना बढेपछि युवाहरु चिन्तीत बन्न थालेका छन् । ती युवाहरुसँगै एकमात्र अन्तराष्ट्रिय विमानस्थल पनी प्रभावित बनेको छ । दैनिक दुई हजारसम्म नेपालीहरु वैदेशिक रोजगारका लागि जाने गरेकोमा मेनपावर ब्यवसायीहरुले मान्छे  पठाउन छाडेपछि विमानस्थल सुनसान भएको छ । विमानस्थलका सूचना अधिकृत जयप्रकाश दासले अहिले ब्यक्तिगत श्रम स्वीकृति लिएर दैनिक एक सयजना जती नेपालीहरु मात्रै वैदेशिक रोजगारमा गइरहेको बताउनुभयो ।

केही एयरलाईन्सहरुको नियमित उडानसमेत स्थगित गरेका छन् ।  एयर अरेबिया, कतार एयरवेज, फ्लाइट दुबई लगायतका विमान तथा मलेसिया लगायतका खाडी मुलुक जाने उडानहरु पनी भएका छैनन् ।