Thaha

Wednesday 29 March - 4:50 pm NST

अब्दुल ठूलोबा !

पवनराज पौडेल

 

‘थाहा पाईस्– अब्दुल ठूलोबा बित्नुभो!’ 

कुराकानीको शुरुमै आमाले भन्नुभयो। हामी आमा–छोरा फोनमा कुरा गर्दैथियौं। आमा काठ्माण्डौं पढ्न बसेको छोरोलाई गाँउको हालचाल यसैगरि अपडेट गराईरहनुहुन्थ्यो। त्यैमध्येको एउटा खबर यो पनि थियो। 

जवाफमा म केहि बोलिन। मात्र ‘बुझें’को शैलीमा टाउको हल्लाएँ, आमाले देख्ने कुरै भएन। 

अब्दुल ठूलोबाको मृत्यूको खबर सुन्दा नरमाईलो लाग्यो। तैपनि मैले उनको मृत्यूलाई स्वभाविक रुपमा लिएँ। बयोबृद्ध थिए, अस्वस्थ थिए– सो बिते। मैले पछिल्लोपटक देख्दा उनको काया झण्डै–झण्डै हाडछालामा खुम्चिईसकेको थियो। राम्ररी बोल्न नसक्ने, खाना पनि बडो कष्ट गरेर खुवाईदिनुपर्ने अवस्था थियो। साता– पन्ध्रदिनमा उनको मृत्यूको खबर सुन्नुपर्छ भन्ने मलाई पहिल्यै थाहा थियो। 

तैपनि खबरले दिनैभर मन खिन्न पारिरह्यो।

#   #   #

मेरा हरेक केटौले बदमासीका साक्षी, अब्दुल ठूलोबा !
मुसुक्क हाँस्दै आस्कोटबाट खुसुक्क चक्लेट झिकेर दिने, मायालु अब्दुल ठूलोबा ! 
घरमा मेरो उपद्र्याईंको कुरा लगाएर कुटाई खुवाउने, निष्ठूर अब्दुल ठूलोबा !

 

अब्दुल ठूलोबा र हामीले डेढ दशकभन्दा धेरै समय एउटै घरमा वितायौं। हामीले मतलब– हाम्रो परिवारले। अब्दुल ठूलोबासंग हाम्रो गहिरो भावनात्मक सम्बन्ध थियो। हाम्रो घरको अग्रभागमा उनको आयूर्वेदिक औषधी पसल थियो। हामी घरभेटी, उनी भाडावाल। मैले थाहा पाएदेखि नै उनको त्यो पसल हाम्रै घरमा थियो र उनको मृत्यूपर्यन्त रहिरह्यो। मभन्दा पनि जेठो औषधि पसल उनको मृत्यूसंगै अस्तित्वविहिन हुनपुग्यो।  बिहानदेखि बेलुकीसम्म खलमा नानाथरिका औषधि घोटिरहने अब्दुल ठूलोबा रहेनन्। सात गाँउले मान्ने बैद्य बा अस्ताए। 

 

मलाई अचम्म लाग्छ, पच्चिस–तिस बर्षअघि पनि मैले उहाँलाई जवान वा अधबैंशे कहिल्यै देखिँन। मैले थाहा पाएदेखि नै उहाँ बृद्ध हुनुहुन्थ्यो। उहाँको ढाड थोरै कुप्रो भएकोले पनि मलाई त्यस्तो लागेको हो कि!

ख्याउटे ज्यान। छातिसम्म आउने हिँउझै सेता दाह्री। शिरमा भादगाँउले टोपी। ज्यानमा सेतो चम्किलो कुर्ता र निलो रंगको चेक लुङ्गी। त्यसमाथि कालो आस्कोट कहिल्यै नछुट्ने! 

ठूलोबा मोटो न मोटो फ्रेम भएको पावरवाला चस्मा लगाँउथे। म कैलेकाँहि मागेर चस्मा उनि हेर्थें। केहि देख्नेभए मरिजाम्। 

उनको एउटा हातमा कहिल्यै नछुट्ने बेतको लौरो हुन्थ्यो अनि अर्को हातमा हरदम बिजुली चुरोट। जम्मामा अब्दुल ठूलोबाको हुलिया यै थियो।  यत्ति विवरण दिएपछि उनलाई कहिल्यै नदेखेको कुनै पनि स्कूले विद्यार्थीले पनि दुरुस्त तस्विर उतारिदिन्छ होला।  

अब्दुल ठूलोबाको दाह्रि मलाई अनौठो लाग्थ्यो। बेलाबेला छामिहेर्थें। खुप् नरम, सिमलको भुवाजस्तो ! उनको मन पनि दाह्रीजस्तै नरम थियो। जिवनजगतलाई हेर्ने उनको जुन आँखा थियो, त्यो पनि मलाई कमालको लाग्थ्योे। मेरो बुझाईमा ति एक सन्त थिए। सन्यासी थिए। गृहस्थ सन्यासी !

तर, तिनै सन्त ठूलोबाले मलाई एकपटक नराम्ररी कुटाई खुवाए। 

सानोमा म बुवाको खल्तीतिर हात सफा गर्न निकै माहिर थिएँ। कतिसम्म भने कैलेकाँहि उमेरमा मभन्दा दशकले नै जेठो मेरो दाईलाई पनि पकेट खर्चको लागि मैमाथि आश्रित हुनुपथ्र्यो। दाजुभाईको अघोषित सहमति थियो– बुवाको खल्तीमा दश रुपैंयाभन्दा तलको नोट भेटिए मेरो, माथिको भेटिए उसको। अपरेसन– फाईन्ड एण्ड फन्। खोज र मोज गर। तिनताका दाई काठ्माण्डौं पढ्थ्यो। म घरबाट उसलाई हजार– पाँच सयका नोट सप्लाई गर्थें। आँफू पाँच–दशले काम चलाँउथें। दश बर्षे फूच्चेलाई आखिर धेरै पैसो नै किन चाहिन्थ्यो र!

एक दिन घरमा कोहि थिएन, खाली ममात्रै। के गरौं के गरौं भईरहेका बेला किलामा झुन्डिईरहेको बुवाको आस्कोट देखें। हात सक्सकाईहाले। म समय खेर नफालि अपरेसनमा जुटें। 

त्यो दिन म स–सानो झिंगेमाछाको खोजीमा थिएँ। मतलब– पाँच, दश वा बिससम्मका नोट। तर खै किन हो जालमा भने हात्तीमात्रै परिरह्यो। अहँ, त्यो दिन हजारभन्दा सानो नोट क्यैगरि भेटिएन। म निरास भएँ।

‘हजार रुपैंयाचाँहि पैसा हैन र! हजार भनेको सयवटा दश त हो नि !’ मनले भन्यो।  अनि दश बर्षे फूच्चे गोजीमा हजारको नोट हालेर मोज गर्न हिंड्यो।

 

जानु कहाँ थियो र! उहि बिस्कुट, चाउचाउ, समोसा र जेरी! तर दशाले कुत्कुत्याएपछि मलाई त्यसदिन बिस्कुट र चाउचाउ छोडेर अर्थोकै खान मन लाग्यो। म अब्दुल ठूलोबाको औषधी पसलमा पुगेँ।

बुढाले बेलाबेलामा चाट्न दिने ग्लुकोजमा मेरो लामो समयदेखि आँखा गढेको थियो। अब्दुल ठूलोबाले हत्केलामा हालिदिने स्वादिलो ग्लुकोज एकफेर चाट्दैमा कहाँ बिलाँउथ्यो कहाँ! मलाई पेटभरी खान मन हुन्थ्यो– बुढाले एक चम्चाभन्दा कहिल्यै नदिने। सोचें, आज बट्टै हान्दिन्छु। गोजिमा हजारको नोट जो थियो।

 

‘कहाँबाट आयो कान्छा, हजारको नोट?’ मैले हजारको नोट तेस्र्याएर ग्लूकोज मागेपछि बुढाले सोधे। 

लौ! परेन फसाद् ! बुढाले ग्लुकोज बेच्नुको साटो ग्राहकको आम्दानीको स्रोत पो खोज्न थाले। पहिले अख्तियारमा काम गर्थे कि क्या हो!

 

मैले सक्दो अभिनय गरें। स्वभाविक बन्न खोज्दै बुवाले किन्न पठाउनुभएको बताँए। तर अहँ, बुढाले पत्याएनन्। लामै केरकार गरे। बुढा नाडिको गतिमात्रै होईन, केटाकेटिको मनको कुरो थाहा पाउन पनि माहिर रहेछन्, त्यै दिन थाहा पाएँ। म फतक्कै गलें। मेरो चोरी पक्डियो। 

 

अब त्यो साँझ घरमा के भयो नभनौं होला! 

 

बुवाको कुटाई सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। कुटाई त छँदैथियो, सिस्नु पनि भेटियो। अरु दिन बुवाले मलाई चर्को डाँको गर्दा ‘भो भो छोड्दिनू!’ भन्ने आमाले त्यस दिन मैले रामधुलाई भेटिरहँदा छेक्दा पनि छेक्नुभएन। खुव चित्त दुख्यो। राती ननिदाईन्जेलसम्म सुँक्सुकाईरहें।

 

मनमनै अब्दुल ठूलोबाको अनुहारै नहेर्ने कसम खाँए। 

 

त्यस्तो कसम कतिदिन टिक्थ्यो र! आफ्नै घरको मुलढोकामै उनको दोकान थियो। तैपनि म उनीसंग तर्केर हिंडन् थालें।

‘ओई कान्छा ! ह्याँ आ!' म रिसाएको थाहा पाएपछि भोलिपल्ट बुढा आँफैले बोलाए। 
मैले सुन्या नसुन्यै गरें।
 
‘आईज न आईज। ग्लुकोज खालास्।’

ग्लुकोज शब्द सुन्नासाथ मुख रसाईसकेको थियो, तैपनि मन थामें। गईन। 

बुढाले मायालु पाराले हातैमा तानेर बेन्चीमा बसाए। मेरो साँप्राको निलडाम हेरेर चुक्चुकाए। 

 

‘बेसरी कुटेछन् क्या हो मास्टरले!’ उनी मेरो बुवालाई मास्टर भन्थे, ‘अनि त्यसरी चोर्छन् त कान्छा!’

म बोलिन। जवाफ भए पो बोल्नु! धुम्म परेर बसिरहें। 

‘किन चोरेको भन् त?’ बुढाले मेरो टाउकोमा हात फिराए। 

म फेरि पनि बोलिन। त्यतिखेर मेरो अनुहारमा उनले लाज र रिसको अद्भुत मिश्रण देखेको हुनुपर्छ। ‘हँँ, भन् त। किन चोरेको?’ 
 
‘ग्लुकोज खान।’ मैले पिन्चे स्वरमा कनिकनि जवाफ दिएँ। 

मेरो कुरा सुनेर उनी दारी मुसार्दै मुसुमुसु हाँस्न थाले। उनि हाँस्दा ओढारजस्तो मुखका सबै थोते गिँजा देखिए। उनले मलाई गिज्याईरहेजस्तो लाग्यो। तैपनि म चुपचाप खुट्टाको बुढिऔंलाले भुँई कोतर्दै बसिरहें। 

‘सुन्। आईन्दा चोर्ने नगर्। बरु स्कुल छुट्टी भएपछि मेरो दोकानमा आउने गर्। तँलाई दिनको एक चम्चा ग्लुकोज खुवाउने काम मेरो भो।’ 

भित्रभित्र म लाजले भुतुक्कै भईसकेको थिएँ। खै किन हो आँखा पनि रसाएर आए।

 

बाचाअनुरुप भोलिपल्टदेखि बुढा आँफैले बोलाउन थाले। त्यस दिनदेखि ग्लुकोज खान अब्दुल ठूलबाको पसलमा छिर्ने मेरो रुटिन नै भयो। बुढाले कहिलेकाँहि च्यवनप्रास पनि खुवाँउथे। पछि त कस्तोसम्म भयो भने उनी पसलमा नभएको बेला आँफै झिकेर खाने अनुमतिसमेत पाँए। लामो समयसम्म यो क्रम चलिरह्यो। पछि क्याम्पसको छुट्टीमा कहिलेकाँहि घर जाँदा बुढा ‘कान्छा, ग्लुकोज खान आ'!’ भन्दै जिस्क्याँउथे। मलाई रमाईलो लाग्थ्यो।

मेरा त्यस्ता अब्दुल ठूलोबा अब यो धर्तिमा रहेनन्। मेरो मनमा सम्झनाको बिस्कुन फिँजाएर बुढा कता बिलाए कता! 

#      #      #

अब्दुल ठूलोबाले मलाई औधि प्रभावित पारेको अर्को एउटा घटना छ। यो मेरो लागि हिन्दु–मुस्लीम विभेदबारे धारणा बनाउन आई -ओपनर घटना पनि हो। यसको एउटा छाप मेरो मनको कुनै कुनामा गढेर बसेको छ। 

२०५० सालतिर हुनुपर्छ, मेरो घरैछेउमा एउटा शिव मन्दिर स्थापना गरिएको थियो। मन्दीरको उद्घाटन गर्न कुनै मन्त्री वा सांसद आएका थिए।  मध्यबजारमा उद्घाटन कार्यक्रम राखिएकाले रमिता हेर्न गाँउ–गाँउबाट मान्छेहरु ओईरिको मलाई हिजैजस्तो लाग्छ।

धुमधामका साथ उद्घाटन कार्यक्रम आरम्भ भयो। अतिथिहरु धमाधम मञ्चमा चढ्न थाले।

उद्घोषक मच्चिई–मच्चिई कुर्लिरहेको छ। सानो मञ्चको वरिपरि मान्छेहरु फूलमा माहुरी झुम्मीएझैं झुम्मीईरहेका छन्। यत्तिकैमा उद्घोषकले अतिथिकै रुपमा मञ्चमा निम्त्यायो– मोहम्मद अब्दुल मियाँलाई। मोहम्मद अब्दुल मियाँ अर्थात हाम्रा अब्दुल ठूलोबा! 

म अचम्ममा परें। 

शिव मन्दिरको उद्घाटन कार्यक्रममा अब्दुल ठूलोबा अतिथि!

हिन्दुहरुका आराध्यदेवको मन्दिर उद्घाटनमा मुस्लिम अतिथि!

मेरा निम्ति यो पत्याईनसक्नुको घटना थियो। मेरो सानो दिमागले के भईरहेको हो भन्ने खुट्याउन सकेन। मलाई धेरै कुरा थाहा नभएपनि अब्दुल ठूलोबा अर्कै धर्म मान्छन् भन्ने थाहा थियो। मेरो बुवाले एउटा कुनामा चण्डी पाठ गरिरहँदा अब्दुल ठूलोबा त्यै घरको अर्को कुनामा नमाज पढिरहेका हुन्थे। यहाँ कुरो धर्मको मात्रै थिएन– मूस्लीम र हिन्दुबिच पानी पनि चल्दैनथ्यो। यै त मैले देखिआएको थिएँ। मेरो कलिलो दिमाग सहि गलत छुट्याउने अवस्थामा कहाँ थियो र! त्यसैले म अब्दुल ठूलोबालाई मन्दिर उद्घाटनको मञ्चमा देख्दा अचम्भित भएको थिएँ। 

यै कुरा मनमा खेलाँउदा खेलाँउदै कुन–कुन वक्ताले के–के बोले मैले हेक्कै पाईन। म त एकटकले अब्दुल ठूलोबाको अनुहारमा हेरिरहेको थिएँ। म त्यतिखेर फेरि झस्किएँ, जतिखेर उद्घोषकले बक्ताको रुपमा अब्दुल ठूलोबाको नाम फुक्यो। म फेरि अचम्ममा परें। 

 

बुढा कुर्चीबाट उठे। 

‘यो भाँडोमा कहिल्यै बोलेको छैन। के बोल्ने हो खै!’ फुस्फुसाँउदै माईक समाते। र, बिस्तारै मञ्चको मध्यभागतिर लम्किए। 

बक्ताको लागि छुट्याईएको ठाँउमा पुगेपनि बुढा एकछिन् केहि बोलेनन्। खालि मञ्चको यो छेउदेखि त्योछेउसम्मका मान्छेहरुलाई गहिरोगरि नियालेर हेरिरहे। मैले उनको हात हावामा विस्तारै थर्थराईरहेकोे देखें। ठुलोबाको हात काँपेको देखेर मेरो मुटु घाँटिसम्म आईपुगेको थियो। उता बुढा भने दर्शकदिर्घातिरका मान्छेकै मुख हेरेर बसिरहेका थिए। 

बुढा बोल्दैनन् कि क्या हो? हुन पनि अब्दुल ठूलोबाले भाषण गरेको मैले कहिल्यै पनि देखेको थिईन। 

दश सेकेन्ड....

बिस सेकेन्ड......

र, तिस सेकेन्ड पनि गयो, तर बुढाको बक् फुटेन। 

लौ गए बुढा आज! सायद धेरै मान्छेका अघिल्तिर बोल्न धकाए। हेर कत्रो बेईज्जत!!

‘केहि त बोल्नुस् अब्दुल ठूलोबा।’ भिडको एउटा कुनामा खाँदिएर बसेको बालखाको मनको कुरा अब्दुल ठूलबाले कसरी सुन्नु! मलाई बुढाको स्थिति देखेर कहाली लागेर आयो। जिउमा काँढा उम्रियो। मैले सक्दो बल लगाएर आँखा चिम्लिएँ। 

अचानक् बुढाले खोक्दै गला साफ गरेको आवाज मेरो कानमा प¥यो। हेर्छु– अघि हातमा तुर्लुङ्ग झुण्डिएको माईक अब उनको मुखको नजिकै पुगिसकेको छ। 

‘ईश्वर– अल्लाह तेरे नाम
सबको सन्मति दे भगवान्।’ 

त्यहाँ उपस्थित मान्छेहरुले करतलध्वनीले ताली बजाए। अब्दुल ठूलोबाले बोलेको पहिलो वाक्य यै थियो। उता बुढाले बोल्न शुरु गरे, यता मेरो सास फर्कियो। 

त्यसपछि बुढाले अघिका दुई हरपको ब्याख्या गरे। धर्म के हो भन्नेबारे आफ्नो बुताले भ्यासम्म बुझाउन खोजे। पुजा गर्नु र धार्मिक हुनु फरक हो भने। नमाज पढ्नु र धार्मिक हुनु फरक हो भने। संसारमा सबभन्दा ठूलो कुरा मान्छेको विवेक र करुणा हो भने। र, आँफुलाई कार्यक्रममा बोल्न मौका दिनु आयोजकको बडप्पन भन्दै प्रसंसा गरे। उनले बोलुन्जेल मान्छेहरु मुग्ध भएर ताली बजाईरहेको सम्झँदा म आज पनि रोमाञ्चि हुन्छु। 

त्यो दिन ठूलबाले बोलेको जम्मामा त्यत्ति नै हो। निकै कम बोले। मुस्कीलले ५ मिनेट! तर निकै खँदिलो बोले, सबैको मन छुनेगरि बोले। त्यो मैले सुनेको पहिलो भाषण थियो, जसले मेरो मन छोएको थियो।

त्यो दिन मैले थाहा पाँए, शैली हैन, विचार प्रमुख हो। शैली दोस्रो हो। शैली सुन्दर भएर हुँदैन, विचार सुन्दर हुनुपर्छ।

त्यसदिन मेरा लागि हिन्दु–मुस्लीमबिचको पर्खाल पनि गल्र्यामगुर्लुम ढल्यो। संसारको सबै मान्छे एकै रहेछन् भन्ने भावनाले मनमा घर ग¥यो। अब्दुल ठूलबा मेरो लागि पहिलेभन्दा झन् आदरणीयय बने। आज पनि मञ्चमा मुस्कुराईरहेका अब्दुल ठूलोबाको अनुहार सम्झिँदा मलाई कुनै राजनितिक उपन्यासको नायकजस्तो लाग्छ। 

#    #     #

मेरो बुवा पनि अब्दुल ठूलोबाको खुब् प्रसंसा गर्नुहुन्थ्यो। पछि बुवाले सुनाएअनुशार अब्दुल ठूलोबाले धर्ति छोड्दै गर्दा उनलाई अन्तिमपल्ट हेर्न कैंयौं मानिसहरु उनको आँगनमा भेला भएका थिए। उनको अवस्था मुस्किलले श्वासले मात्रै बोल्न सक्ने थियो। जानेबेला मेरो बुवाको हात समातेर धेरैबेर आँसु झारे रे! मेरो बुवा पनि खुव भक्कानिनुभएछ।

 

केहि दिनअघि बुवा र म घरछेउको त्यै शिवमन्दिरको पेटिमा बसेर अब्दुल ठूलोबाको कुरा गरिरहेका थियौं। छेउको पिपलको रुखतिर हेर्दै बुवाले भन्नुभयो, ‘पिपलको रुखजस्तो जिवन बाँचेर गए अब्दुल दाई।’

हुन पनि हो, पिपलले छलकपट जान्दैन। न त कसैसित लिन नै जान्दछ। यसले केवल दिन्छ मात्रै।

वा! पिपलको रुखजस्तो जिवन!

 

त्यस्ता थिए हाम्रा अब्दुल ठूलोबा। 

 

उनि बितेको धेरै नै भयो। तैपनि उनलाई सम्झँदा कसो–कसो आँखा चिसा हुन्छन्। मान्छे मर्दा आँफूमात्रै मर्दैन रहेछ, बाँचेकाहरुलाई पनि अलिअलि मारेर जाँदोरहेछ।