Thaha

Friday 26 April - 3:51 am NST

कस्तो हुनुपर्छ यो बर्षको बजेट ?


नरेन्द्र सापकोटा
काठमाडौ,२३ असार ।
सरकारले आर्थिक बर्ष २०७२÷०७३ को लागि बजेट ल्याउने तयारी गरेको छ । संसदमा प्रि बजेट छलफल सकिसकेको छ भने बुधवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । बैशाख १२ को भूकम्पले क्षति पुगेका क्षेत्रको पुननिर्माण र पुनस्थापनामा बजेट केन्द्रित हुनुपर्नेमा बिज्ञहरुको जोड छ ।  
यस बर्ष पुननिर्माण र पुर्नस्थापनाका कारण बजेटको आकार बढ्नेछ । पुननिर्माणका लागि मात्रै झण्डै ७ खर्ब लाग्ने भएकाले बजेट स्वतहः बढ्ने भएको हो । अघिल्लो बर्ष झण्डै सबा ६ खर्बको बजेट पेश गरेको सरकारले आर्थिक बर्ष सकिनै लाग्दा पूँजिगत खर्च भने पचास प्रतिशत पनि गर्न सकेको छैन । त्यसैले खर्च गर्नसक्ने क्षमता बढाउनका लागि नीजि क्षेत्रसँग सहकार्य गर्न सुझाव दिनुहुन्छ नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष पशुपति मुरारका । उहाँ भन्नुहुन्छ बिकाश बजेट खर्च गर्न नसकरेछ सरकार छटपटाउनु भन्दा निजि सरकारी र सहकारीको सहकार्यबाट बिकाशका परियोजना संचालन गर्न सकिन्छ ।
पुननिर्माणको लागि समेत बजेट आउँदैछ । तर गठन गर्ने भनिएको शक्तिशाली पुननिर्माण प्राधिकरणको संरचना, त्यसको कार्यक्षेत्रबारे अझै अन्यौल कायमै छ । बजेट आउने तर कसले कसरी खर्च गर्ने ? भन्ने टुंगो नलाग्दा फेरी बिकास बजेट फ्रिज हुने नियति दोहोरिन्छ । त्यसैले बजेट आउनुअघि नै प्राधिकरणको टुंगो लगाउनुपर्छ भन्नुहुन्छ अर्थविद शंकर शर्मा । जे भएपछि यो बजेट पुननिमार्ण र पुनस्थापनामै केन्द्रीत हुनुपर्ने उहाँको सुझाब छ ।

पुननिर्माणको काम प्राधिकरणले गर्छ । बजेटले अन्य नियमित योजनालाई पनि सँगै अगाडि बढाउनुपर्ने हुन्छ । त्यतिमात्रै होइन राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई दोब्बर लगानी गरेर काम गर्नुपर्ने पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको सुझाव छ । 
नेपालको अर्थब्यवस्थामा पैसाको भन्दा पनि खर्च गर्ने संस्कृतिको अभाव छ । भएका खर्च पनि सहि सदुपयोग हुँदैनन् र अधिकाँश बजेट आर्थिक बर्षको अन्त्यतिर खर्च हुने गर्छन् । यसपटक बजेटको आकारमा भारी वृद्धि हुने भएकाले अझ यसले बढावा पाउने देखिन्छ ।  यसको असर पुननिर्माणका लागि दाताहरुले दिने भनेको सहायतासँग पनि जोडिने भएकाले सरकार बेलैमा सचेत हुनु आवश्यक छ ।