Thaha

Wednesday 17 April - 5:20 am NST

त्रिशुली थ्री बी आयोजनामा प्राधिकरणका उच्च अधिकारीकै चलखेल

काठमाडौं​, असार २१ । माथिल्लो त्रिशुली थ्रि वि जलविद्युत आयोजनाको क्षमता घटाउने गरि सरकारले अर्को आयोजनालाई अनुमति पत्र दिएको खुलेको छ ।

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानी रहेको त्रिशुली थ्रि बि आयोजनाको ५ मेगावाट क्षमता घटाउने गरि नीजि क्षेत्रको ५५ मेगावाट क्षमता रहने गरि मध्य त्रिशुली गंगा जलविद्युत आयोजनालाई अनुमति पत्र दिएको खुलेको हो । प्राधिकरणका उच्च अधिकारीहरुकै मिलेमतोमा नियम विपरित मध्य त्रिशुली गंगा जलविद्युत आयोजनालाई अनुमति पत्र दिएपछि त्रिशुली थ्रि वि आयोजनाको क्षमता ४२ बाट ३७ मेगावाटमा झार्नुपर्ने भएको छ । यसले नेपाल विद्युत प्राधिकरणले झण्डै २७ करोड रुपैयाँ घाटा वेहोर्नुपर्ने भएको छ । आयोजना प्रमुख दामोदरभक्त श्रेष्ठले आफुहरुले बाध्य भएर ५ मेगावाट क्षेमता घटाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

आफूले उर्जामन्त्री, उर्जासचिव र प्राधिकरणका कार्यकारी निर्देशकलाई निर्णय सच्चाउन पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको बताउनुभयो । आफूहरुको क्षेत्र मिचेर मन्त्रालयल लाईसेन्स दिएपछि घाटा बेहोर्नुको कुनै विकल्प नभएको आयोजना प्रमुख दामोदर भक्त श्रेष्ठको भनाई छ ।

उहाँले भन्नुभयो,‘प्राधिकरणको आफ्नौ आयोजनलाई निमोट्ने प्रयास भएको छ । यो बाउले आफ्नो छोरालाई निमोटेको जस्तै हो ।’  उहाँले मध्य त्रिशुली गंगा जलविद्युत आयोजले पाँच मेगावाट क्षमता घटायो भने आफूहरुलाई केही असर नगर्ने बताउनुभयो । तर मध्य त्रिशुलीले क्षमता घटाउन अस्वीकार गरेको छ ।

मुख्य गानीकर्ता रहेको नेपाल टेलिकमका उच्चअधिकारी पनि निर्णय सच्चाउन माग गर्दै उर्जामन्त्रालयका अधिकारीलाई पटक पटक आग्रह गरेका छन् । तर, कुनै सुनुवाई हुन सकेको छैन । तत्कालिन विद्युत व्यापार विभागका निर्देशक रहेका शेरसिंह भाटले आयोजनाका लागि दक्षिणी क्षेत्र आवश्यक नपर्ने भनेर २०६७ असार १७ गते विद्युत विकास विभागलाई पत्र लेखेको खुलेको छ ।

त्यसै निर्णयलाई टेकेर उर्जामन्त्रालयले मध्य त्रिशुली गंगा जलविद्युत आयोजनालाई अनुमति पत्र दिएको थियो । पछि अध्ययनका क्रमका माथिल्लो त्रिशुली ३ बि आयोजनाको क्षेत्र मिचिएको खुलेको थियो । प्राधिकरण र उर्जामन्त्रालयले यसलाई गुपचुप राख्ने प्रयास गरेका थिए ।

तर, प्राधिकरणका कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिएपछि प्राधिकरणको गलत निर्णय बाहिर आएको हो । प्राधिकरणमा कृयाशील उनीहरुले तत्काली विद्युत व्यापार विभागका निर्देशक तथा अहिले उत्पादन विभागमा रहेका प्राधिकरणका उपकारी निर्देशक शेरसिंह भाटसहित निर्णय प्रकृयामा संलग्नलाई कारवाहीको माग गरेका छन् ।

मोटो रकम लिएर आफ्नै आयोजनालाई सिध्याउने खेल भएकाले आफूहरु आन्दोलनमा उत्रिएको नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सिताराम थापाले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सँगठनका अध्यक्ष खगेन्द्र शाहीले तत्कालीन निर्देशक भाटले एकल निर्णय गरेर षडयन्त्रपूर्वक विद्युत विकास विभागलाई पत्र लेखेको आरोप लगाउनुभयो ।