Thaha

Friday 21 July - 8:24 am NST

रेडियोले प्रशारण नगरेको नयनराजको कविता

 

लेखक नयनराज पाण्डे समकालिनमध्ये अत्याधिक रुचाईएका लेखक हुन्। कथा होस् वा उपन्यास दुवै क्षेत्रमा उनको लेखन सशक्त मानिन्छ। लू र उलार उनको सर्वाधिक पढिएका कृति हुन्।

आज हामी लेखक पाण्डेको बाल्यकालसंग जोडिएको एउटा रोचक प्रसंग शेयर गर्छौं।

लेखक पाण्डे

 

काठ्माण्डौंमा जन्मेका पाण्डेको बाल्यकाल नेपालगञ्जमा बितेको हो। सानो छँदा उनी रेडियो नेपाल खुप् सुन्दा रहेछन्। त्यै बाह्र तेह्र बर्ष उमेर छँदाको कुरो! बासुदेव मुनाल प्रस्तोता रहेको बाल कार्यक्रमको उनी फ्यान! त्यस कार्यक्रममा आँफुसरहका विद्यार्थिहरुको रचना वाचन भएको सुनेपछि उनलाई पनि लेख्ने हुटहुटी चलेछ।

रेडियो नेपालमा रचना पठाँउदा कसरी पठाउने? कस्तो रचना पठाउने? उनलाई केहि थाहा थिएन। यसबारे उनले आफ्नो पिताजीसंग सल्लाह मागे।

‘कविता पठाउने। र, राम्रा अक्षर लेखेर पठाउने।’ बाले भन्नुभएछ।

सुन्दर अक्षर नोटिस नहुने कुरै थिएन। बाको आईडिया सुनेर पाण्डे पनि मख्ख। उनले असाध्यै राम्रो अक्षर पारेर कविता लेखे र रेडियो नेपालमा पठाईदिए।

उनको काम अब बाल कार्यक्रमको प्रतिक्षा गर्नू र आफ्नो रचना कहिले प्रशारण होला भनेर कुर्नूमात्रै थियो। उनी रेडियोमै कान थापेर बस्न थाले।

 

एक हप्ता बित्यो। दुई हप्ता बित्यो। तिन हप्ता पनि बित्यो। तर रेडियो नेपालबाट उनको कविता प्रशारण भएन। संगै कविता पठाउने सबैको रचना आयो तर उनको आएन। अहँ.. आँउदै आएन। पाण्डे निराश भए।

एकदिन उनी निन्याउरो अनुहार लाएर पिताजीसमक्ष हाजिर भए।

‘के ‘भो?’ बाले सोध्नुभयो।

‘रेडियो नेपालमा मेरो कविता आएन।’ बालकको दुखेसो।

‘किन आएन त?’

‘खै!’

‘अक्षर कस्ता थिए?’ बाले सोध्नुभयो।

‘राम्रा। असाध्यै राम्रा!‘

बालाई छोरोले कविता राम्रो लेखेनछ कि भन्ने लागेछ क्यारे! सोध्नुभयो, ‘अनि कविता! कविता चैं कस्तो पठाईस्?’

‘कविता पनि काईदाको थियो। माधव घिमिरेको कविता पठा’थें।’ बालक नयनराजले गर्वसाथ भनेछन्।

smiley   cheeky  wink

 

(रेडियो कार्यक्रम सल्यूट सेलिब्रिटिबाट। पाण्डेको नयाँ उपन्यास ‘सल्लिपिर’ चैत २७ गते बजारमा आँउदैछ।)