Thaha

Saturday 25 February - 8:04 am NST

‘तिम्रो घरमा सबैभन्दा पहिले को उठ्छ?’

पवनराज पौडेल

 

 

मार्च ८। बिश्व नारी दिवश।

केहि कालअघिसम्म नेपाली समाजमा महिलाको स्थान कहाँ थियो? एउटा सानो प्रसंग शेयर गर्छु।

थाहा आन्दोलनको प्रणेता रुपचन्द्र लामो समय जनमूखि राजनितीमा सक्रिय भए। उनी पटक–पटक निर्वाचित भई राष्ट्रिय पञ्चायतको सदस्य पनि बने। अधिकांश समय ग्रामिण क्षेत्रमा बिताउन रुचाउने रुपचन्द्र गाँउका कुरा केन्द्रमा र केन्द्रको कुरा गाँउमा लैजाने काम गर्थे। ‘जनप्रतिनिधिको काम नै त्यै हो’, उनी भन्दथे।

अधिकांस गाँउलेहरु निरक्षर थिए। खेतिपाति नै आयआर्जनको स्रोत थियो। कोदालो समातेर दिन शुरु हुन्थ्यो कोदालो बिसाएर सकिन्थ्यो। तीनलाई राजनितिका कुरा जीवन–दर्शनका कुरा बुझाउन त्यति सजिलो थिएन। तर रुपचन्द्र लागि पर्थे। भन्थे, ‘प्रजातन्त्र छाप्रोमा सुतिरहेको छ। प्रजातन्त्र ब्यूँताउने हो भने छाप्रे ब्यूँताउनुपर्छ।’

रुपचन्द्र आफ्नो सभा–सम्मेलनमा सकेसम्म धेरै महिलाहरु सहभागि होउन् भन्ने चाहन्थे। उनीहरुले पनि कुरा बुझुन् भन्ने चाहन्थे। चेतना जागृत होस् भन्ने चाहन्थे। ‘मान्छे के हो? म को हुँ? हाम्रो जीवन किन यस्तो भयो?’ उनीहरुको मनमा प्रश्नका केहि थोपाहरु सिंच्न चाहन्थे।

तर सभामा त्यस्तो हुँदैनथ्यो, पुरुषहरुकै बाहुल्यता रहन्थ्यो। नगण्य महिलाहरुले मात्र भाग लिन्थे। लोग्नेहरु ठान्दथे– स्वास्नीले राजनितिका कुरा सिकेर के अर्थ! प्रायश: पुरुषहरु महिलामाथि विभेद छ भन्ने स्विकार्दैनथे। चलिआएका चलन भन्थे; महिलाहरु चुलोचौकोमै सिमित हुनुपर्ने तर्क गर्थे।

एकदिन रुपचन्द्रलाई लाग्यो– अब यी लोग्नेहरुलाई पाठ पढाउनुपर्छ।

 

मकवानपुरको कुनै दुर्गम गाँउमा कार्यक्रम थियो। राजनितीक सभा। रुपचन्द्रलाई थाहा थियो आज पनि फेरि पुरुषहरुमात्रै आँउछन्। त्यसैले रुपचन्द्रले एउटा जुक्ति झिकेछन्।

घर–घर गएर महिलाहरुलाई डाकेछन्, पुरुषहरुलाई डाकेछन् र बालबालिकाहरुलाई पनि एकै ठाँउमा भेला पारेछन्। सबै जम्मा भएपछि उनले बालबालिकाका बाआमालाई सोधेछन्, तिम्रो बच्चाले झुटो बोल्छ कि बोल्दैन?’

‘बोल्दैन।’ 

‘ल, त्यसोभए एकछिन् चुप लागेर बस। म यिनीहरुसंग कुरा गर्छु।’

बच्चासंग के कुरा गर्ने होला! सबैजना उत्सुक भएछन्।

 

रुपचन्द्र बिष्ट
रुपचन्द्र बिष्ट

 

यता रुपचन्द्र- बच्चाहरुलाई लहरै उभ्याएर प्रश्न सोध्न थालेछन्।

‘तिम्रो घरमा सबैभन्दा पहिले को उठ्छ?’

‘आमा!’ बच्चोले अनकनाँउदै जवाफ दिएछ।

‘सबभन्दा पछि को सुत्छ?’

‘आमा।’

‘सबभन्दा अन्तिममा कसले खाना खान्छ?’

‘आमा।‘

‘घरको सारा काम कसले गर्छ?’

‘आमाले!’

‘घरमा पैसा कोसित हुन्छ?’

‘बासित।’ बच्चो पुलुक्क बाउतिर हेर्छ।

‘घर–खेत कसको नाममा छ?’

‘बाको।’ बच्चोले जवाफ दिंदै गर्दा बाउचैंको मध्यपुषमा पनि पसिना छुटिसकेको हुन्थ्यो।

 

यस्ता थिए रुपचन्द्र! अनेक जुक्ति लगाएर महिलामाथि हुँदै आएको विभेदबारे महिलालाई मात्र होईन, पुरुष र बालबालिकालाई समेत नयाँ दृष्टि दिने कोशिस गर्थे। उनी भन्थे– ‘छोरीलाई पढाऊ। यज्ञ लगाउनुपर्दैन। पुजापाठ गर्नुपर्दैन।’

 

यो थियो हिजोको कुरा! 

अब आजको कुरा के सुनाँऊ! तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ।  केहि नभएको पनि होईन, सबै भईसकेको पनि होईन। यो एउटा प्रकृया हो। हामीले जति बल गर्छौं, चिज उति गतिशिल हुन्छ। जो जहाँ छौं, बोल्ने हो- लेख्ने हो।

 

नारी दिवशको शुभकामना!